टोकियो पुगे प्रचण्ड, यस्तो छ भ्रमण तालिका

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ जापान पुगेका छन् । उनी केही बेरअघि टोकियोस्थित नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएका हुन् ।

उनलाई जापानका लागि नवनियुक्त नेपाली राजदूत डा. दुर्गा बहादुर सुवेदी विमानस्थलमै स्वागत गरेका थिए । पाँचदिने भ्रमणका लागि सचिवालय टोलीसहित प्रचण्ड राष्ट्रिय ध्वजावाहक नेपाल एयरलाइन्सको विमानबाट शुक्रबार राति जापान प्रस्थान गरेका थिए ।

नेपाली जनप्रगतिशील मञ्च जापानको निमन्त्रणामा जापान पुगेका उनीसँगै स्वकीय सचिव रमेश मल्ल, छोरी गंगा दाहाल, सूर्य किरण रहेका छन् । अध्यक्ष प्रचण्डले आज फुकुओकामा आयोजना हुने नेपाल फेस्टिभलको समुद्घाटन गर्नेछन् ।

अगस्ट ६ मा हिरोसिमा घटना भएको ७५ वर्ष पूरा हुन्छ । अगस्ट ७ आइतबार अध्यक्ष प्रचण्डले हिरोसिमा भ्रमण गर्ने भ्रमण तालिका रहेको उनका सचिवालयले जनाएको छ । त्यस्तै आइतबार नै नेपाली जनप्रगतिशील मञ्च जापानको आयोजनामा टोकियोमा हुने नेपाली समुदायहरुबीच ‘समृद्ध नेपालको आधार : आर्थिक क्रान्तिमा प्रवासी नेपालीको सरोकार’ विषयक खुला अन्तरक्रियामा प्रमुख अतिथिको रुपमा सहभागी बन्नेछन् ।

दाहाल जापानमा रहँदा जापानको सत्तारुढ दल लिबरल डेमोक्रेटिक पार्टीका नेताहरूसँग पनि भेटवार्ताको कार्यक्रम छ । दाहाल साउन २५ गते स्वदेश फर्किने छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *