निर्वाचन मिलेर लड्ने गठबन्धनकाे निर्णय, सिट बाँडफाँटका लागि कार्यदल गठन

काठमाडौँ । सत्तारूढ पाँच दलीय गठबन्धनले आगामी प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा तालमेल गर्ने निर्णय गरेको छ ।

शुक्रवार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री एवं कांग्रेसका सभापति शेर बहादुर देउवाको अध्यक्षतामा बसेको गठबन्धन बैठकले आगामी ४ गते हुने निर्वाचनमा पाँच दलीय गठबन्धनबिच चुनावी तालमेल गरी अघि बढ्ने निर्णय गरेको सरकारका प्रवक्ता एवं ज्ञानेन्द्र बहादुर कार्कीले जानकारी दिए ।

चुनावी तालमेल गर्ने निर्णयमा प्रधानमन्त्री देउवा, माओवादी अध्यक्ष प्रचण्ड, नेकपा समाजवादीका अध्यक्ष माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र राष्ट्रिय जनमोर्चाका अध्यक्ष दुर्गा पौडेलले हस्ताक्षर गरेका छन् ।

तालमेलका लागि आगामी दिनमा निरन्तर छलफल गरी टुङ्गोमा पुग्ने कार्कीले बताए । उनले सिट बाँडफाँडको टुङ्गो लगाउन सबै दलको प्रतिनिधित्व हुने गरी कार्यदल बन्ने पनि बताए ।

कार्कीले निर्वाचन आयोगको परामर्श अनुसार नै सरकारले चुनावको मिति तोकेको बताए । निर्वाचनको मिति घोषणा गर्न मन्त्रिपरिषद् बस्नुभन्दा पहिला प्रधानमन्त्री देउवाले प्रतिपक्षी दलका नेतालाई टेलिफोन गर्न खोजेको तर कुराकानी हुन नसकेको उनले बताए ।

मन्त्रिपरिषद्को बिहीबारको बैठकले मङ्सिर ४ गते एकै चरणमा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन गर्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

thirteen + 13 =