किरण-कञ्चनबीच पार्टी एकता गर्ने सहमति

काठमाडाैँ । माेहन वैद्य ‘किरण’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी) र धर्मेन्द्र बाँस्ताेला ‘कञ्चन’ नेतृत्वकाे नेकपा (बहुमत)बीच पार्टी एकता हुने भएकाे छ । यसका लागि क्रान्तिकारी माओवादीका महासचिव किरण र बहुमतका संयोजक कञ्चनसहितको वार्ता टाेली बनेकाे छ ।
वार्ता टाेलीमा क्रान्तिकारी माओवादीबाट किरणसँगै सिपी गजुरेल, हरिभक्त कँडेल, परि थापा, इन्द्र मोहन सिग्देल र रामसिंह श्रीस छन् भने बहुमतबाट कञ्चनसँगै हेमन्तप्रकाश वली ‘सुदर्शन’, दिपक चलाउने, गुणराज लोहनी, कृष्ण धमला र देवकला अधिकारी छन् । याे टाेलीले चाँडै वार्तामार्फत् पार्टी एकताकाे काम गर्ने कञ्चनले बताए । ‘वार्ता टाेली बनेकाे छ । टाेली पनि एकता हुने छाँट देखेरै बनाएका हाैँ । यसले चाँडै नै प्रक्रियालाई पूर्णता दिन्छ,’ कञ्चनले मकालुखबरसँग भनेका छन् ।
उनले समाजवादका आधार तय गर्ने अन्य दलहरूसँग पनि एकताका लागि पहल हुने बताएका छन् ।
केही समयअगाडि नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिष्ट पार्टीबाट अलग्गिएर बहुमत बनाएका कञ्चनले जनवादी क्रान्तिमार्फत् मात्रै समाजवादसम्म पुग्न सकिने बताएका छन् ।








