‘राजनीतिबाट बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ’

काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले अबको ५ वर्षपछि सक्रिय राजनीतिबाट बिदा लिने सङ्केत गरेका छन् । बिहीबार काठमाडौंमा आयोजित ‘नेपाल कम्युनिस्ट पार्टी एमाले र माओवादी केन्द्रको एकतादेखि विभाजनसम्म’ पुस्तक लोकार्पण कार्यक्रममा यस्तो सङ्केत गरेका हुन् ।

अध्यक्ष नेपालले ७० वर्षमा नै राजनीतिबाट टाढिने विचार गरे पनि परिस्थितिले नदिएको र ७५ वर्षमा भने सक्रिय राजनीतिबाट बिदा लिने बताए । उनले सक्रिय राजनीतिमा अब धेरै समय बस्न मन नरहेको उल्लेख गर्दै यसपटकको चुनावमा प्रतिस्पर्धामा गएर जित्नैपर्नै दबाब रहेका पनि बताए ।

‘मलाई कतिपय पत्रकार साथीहरूले एक दिन दिनुहोस् न भनेर मागेका छन् तर समय मिलाउन भ्याइरहेको छैन । एक दिन निकाल्न सकेको छैन । यो समय पाँच वर्षपछि मिल्ने हो कि जस्तो लागेको छ । अब यो राजनीतिबाट पाँच वर्षपछि बिदाइ हुनुपर्ला जस्तो लागिरहेको छ । धेरै बस्न पनि जरुरी छैन । ७० वर्षमा नै बिदा हुने भनेको हो तर राजनीतिक परिस्थितिले छोड्न नै दिएको छैन,’ अध्यक्ष नेपालले भने, ‘यसपटकको चुनावमा त लड्नैपर्छ । जित्नैपर्छ । राजनीतिलाई एउटा मोडमा पुर्‍याउनै पर्छ । चुनावको मितिको घोषणा भई पनि सकेको छ । अब पनि चुनावमा नउठ्ने भन्ने कुरा गर्नै भएन । डराएछ कि के हो माधव नेपाल भन्ने पर्ला । सामना गरेर, चुनावमा उठेर, विजयको ढोका बजाएर तपाईँहरूको बिचमा मैले फेरि आउनुपर्नेछ ।’

अध्यक्ष नेपालले आगामी प्रदेश र संघको निर्वाचनमा पाँचदलीय गठबन्धन गरेरै प्रतिस्पर्धा गर्ने दोहोर्‍याए । शुक्रबार पाँचदलीय गठबन्धनको तर्फबाट आगामी निर्वाचनमा मिलेर प्रतिस्पर्धा गर्ने कुराको घोषणा हुने उनले बताए । अब तेस्रो शक्ति बनाउन पार्टीहरू एकजुट भइरहेको उल्लेख गर्दै शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टी एक ठाउँमा हुनुपर्ने उनको भनाइ थियो ।

‘गठबन्धन कायम रहन्छ कि रहँदैन भन्ने कुरा आउला, त्यसैले गठबन्धन कायम रहन्छ । हामी आगामी निर्वाचनमा गठबन्धन गरेर हामी भोलि गठबन्धन रहन्छ भनेर घोषणा गर्दै छौँ । हामी अर्को मोर्चा पनि बनाउन गइरहेका छौँ,’ उनले भने, ‘तेस्रो शक्ति । तेस्रो शक्तिमा एकीकृत समाजवादी, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा, यी ४ पार्टी एक ठाउँमा गोलबन्दी हुन जरुरी छ ।’

अध्यक्ष नेपालले नेपाली कांग्रेसमा हामी नै सबैथोक हौँ भन्ने परेको बताउँदै अन्य पार्टी पनि मैदानमा छन् भन्ने सोच्न जरुरी रहेको बताए । नेकपा एमालेका अध्यक्ष केपी ओलीप्रति इंगित गर्दै आफू सर्वेसर्वा हुँ भन्ने प्रवृत्तिले देश बिगारिरहेको बताए । –नयाँ पत्रिकाबाट

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *