सत्तारुढ गठबन्धन मंसिर ४ मै चुनाव गर्न सहमत

काठमाडाैँ । सत्तारुढ गठबन्धनका शीर्ष नेताहरू आगामी मंसिर ४ मा प्रदेश र सङ्घीय निर्वाचन गर्न सहमत भएका छन् । एक नेताकाअनुसार आज दिउँसाे १ बजे बस्ने मन्त्रिपरिषद् बैठकले चुनावकाे मिति घाेषणा गर्नसक्ने छ । ‘गठबन्धनका शीर्ष नेताहरू मंसिर ४ मै सहमत हुनुभएकाे छ,’ उनले मकालुखबरसँग भनेका छन्, ‘सम्भवत: मंसिर ४ मै चुनाव हुनसक्छ ।’
निर्वाचन आयाेगले भने मंसिर २ गतेका लागि सुझाव दिएकाे छ । सरकारले भने मंसिर ४ मै मिति घाेषणा गर्ने लगभग पक्कापक्कीजस्तै भएकाे छ । यसघि बुधबार मात्रै पनि गठबन्धनका शीर्ष नेताहरूबीच छलफल भएकाे थियाे ।
चुनावकाे मिति घाेषणापछि संसद् रहन्छ कि रहँदैन भन्नेबारे भने नेताहरू प्रष्ट छैनन् । ‘हाउस चलाउने कि नचलाउने अलग कुरा हो, तर हाउस रहन्छ हाेला,’ ती नेताले भनेका छन्, ‘चलाइराख्न धेरै रुचि छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयक पास गरेपछि अधिवेशन अन्त्य हुन्छ होला ।’








