ईडनबरामा नेपाली वीरताको सम्मान !

काठमाडाैँ । केही दिनदेखि बेलायत भ्रमणमा रहेको छु । यसैबीच हिजो स्कटल्याण्डको राजधानी ईडनबरास्थित प्रख्यात ‘ईडनबरा क्यासल’ हेर्ने अवसर प्राप्त भयो । उक्त क्यासलभित्र रहेका विभिन्न ऐतिहासिक सामाग्री र स्तम्भहरूमध्ये एक महत्त्वपूर्ण आकर्षण ‘युद्ध संग्रहालय’ पनि रहेछ । ब्रिटिश साम्राज्यसँग सन् १८१४ देखि १८१६ सम्म नेपालले युद्ध लडेको कारण उक्त युद्ध संग्रहालयमा नेपालबारे केही सामग्री छन् कि भन्ने उत्सुकताको कारण म स्वाभाविकरूपले संग्रहालयतर्फ आकर्षित भएँ ।
हामी नेपालीको निम्ति अंग्रेजसँगको सो युद्धको ऐतिहासिक महत्त्व रहेको छ । सो युद्ध नेपाली इतिहासको अविस्मरणीय घटना हो । यही युद्धको परिणामस्वरुप नेपालले करिब एकतिहाइ आफ्नो भूभाग गुमाउनुपरेको तितो सत्य स्वाभिमानी नेपालीको मन-मस्तिष्कमा अंकित रहने गरेको छ । राष्ट्रनिर्माता श्री ५ पृथ्वीनारायण शाहको नेतृत्वमा शुरू भएको नेपाल एकीकरण अभियान फैलिँदै जाँदा कालान्तरमा नेपालको पश्चिम सिमाना हालको भारतीय भूभि कुमाउ, गढवालसहित सतलज नदीसम्म पुगेको थियो । सन् १८०९ सम्ममा नेपालको सीमा पूर्वमा टिस्टा र पश्चिममा सतलजसम्म फैलिएको थियो । पश्चिमतर्फको एकीकरण अभियानको नेतृत्व अमरसिंह थापाले गरेका थिए ।
तीव्र गतिमा नेपाल राज्यको विस्तार हुँदै गएको देखेपछि तत्कालीन ब्रिटिश साम्राज्यले सन् १८१४ मा बुटवल स्युराजको सानो भू-भागको सामान्य विवादलाई वहाना बनाएर नेपालसँग युद्ध शुरू गरेको थियो । मुलुकको सार्वभौमिकता र स्वतन्त्रता रक्षाका निम्ति अंग्रेजले थोपरेको युद्ध लड्नुबाहेक नेपालसँग अर्को विकल्प थिएन । करिब दुई वर्ष लामो युद्धकालमा नेपालले ब्रिटिश साम्राज्यसँग डटेर सामना गर्याे ।

नेपाली फौजको तुलनामा अंग्रेजी फौज संख्यामा पनि धेरै बढी र आधुनिक हातहतियारले समेत सु-सज्जित रहेको थियो । तर, नेपाली पक्षको रणकौशल तुलनात्मकरूपले उच्चस्तरको रहेको तथ्यलाई त्यसबेला शत्रुपक्षले पनि उदाहरणीय ठानेको पाइन्छ । सन् १८१४ मा शुरू भएको युद्ध १८१५ मार्चदेखि चरमोत्कर्षमा पुगेको थियो । उक्त घमासान युद्धको क्रममा नेपालको पश्चिमी सीमा क्षेत्रमा १८१५ अप्रिलमा नेपाली सेनाका एकबहादुर सेनापति हस्तिदल शाहीले वीरगति प्राप्त गरे । त्यसलगत्तै मलाउँको किल्लाको रक्षाका निम्ति तैनाथ त्रिहत्तर वर्षका सरदार भक्ति थापाले अद्वितीय साहस र वीरता प्रदर्शन गर्दै सहादत प्राप्त गरे । भक्ति थापा देउथलको युद्धमा लड्दा लड्दै छातीमा गोलीलागी दिवंगत भएका थिए ।
यिनै भक्ति थापा संलग्न युद्धको सन्दर्भलाई उल्लेख गर्दै अंग्रेजी सेनाका कमाण्डर डेभिड अक्टरलोनीले नेपाली सेनाको वीरता र साहसको मुक्तकण्ठले प्रशंसा गरेको विषय ईडनबरास्थित ‘युद्ध संग्राहलय’मा उल्लेख रहेको पाँउदा मन रोमांचित भयो । बहादुर नेपाली पुर्खाहरूप्रतिको सम्मानले मन प्रफुल्लित भयो । उक्त संग्राहलयमा नेपाली वीरताको प्रशंसासहित गोर्खाली विरताको प्रतीक खुकुरी पनि सँगै राखिएको थियो ।
अक्टोरलोनी रणकौशलमा पारङ्गत एक वी अंग्रेजी योद्धा थिए । आफ्नो विजयपश्चात् उनले नेपाली सेनाको साहस, वीरता र युद्ध कौशलको खुलेर प्रशंसा गरे । भक्ति थापा नेतृत्वको फौजले देखाएको रणकौशलको उनले मुक्तकण्ठले प्रशंसा मात्र गरेनन्, वीर गोर्खालीहरूलाई अंग्रेजी सेनामा सामेल गराउन पाए भारतमा एकछत्र राज गरिरहेको ‘ईष्ट ईण्डिया कम्पनी’ लाई बल पुग्नुका साथै विश्वमा ब्रिटिश साम्राज्यको अकण्टक राज्य कायम हुने सोचाइसमेत बनाए । फलस्वरूप युद्ध बन्दी बनाइएका गोर्खालीहरूलाई आफ्नो सेनामा प्रवेश गर्न उनले अभिप्रेरित गरे । साथै, भविष्यमा स्थायीरूपमा ब्रिटिश साम्राज्यको सेनामा गोर्खा भर्ती गर्न आफ्नो सरकारलाई सुझाव समेत दिए । अक्टोरलोनीले पछि बेलायती सेनामा महारथी दर्जा पनि प्राप्त गरे ।
उनै अक्टोरलोनीको सुझावलाई कार्यान्वयन गर्दै त्यसबेलाको ‘ईष्ट ईण्डिया कम्पनी’ र पछि गएर ब्रिटिश सेनामा नेपाली नागरिकहरू भर्ना हुने परम्परा शुरू भएको हो । अनेकौं आरोह-अवरोह र विवादका बाबजुद दुई सय वर्षभन्दा लामो समयदेखि यो परम्परा अविच्छिन्नरूपमा अहिले पनि जारी रहेको छ । करिब चार हजारको संख्यामा हाल पनि नेपाली युवकहरूले ब्रिटिश सेनामा काम गरिरहेका छन् । सुगौली सन्धिसँगै कायम भएको नेपाल र संयुक्त अधिराज्य बीचको दौत्य सम्बन्धले पनि दुईसय वर्ष पूरा गरेको छ ।
यसप्रकार संयुक्त अधिराज्यको स्वतन्त्रता र अखण्डताको रक्षाका निम्ति नेपाली नागरिकहरूले रगत पसिना बगाउने र ज्यान नै समेत गुमाउने गरी भइरहेको कार्यप्रति कतिपय जागरुक नेपालीहरूमा असन्तोष र आक्रोश रहँदै आएको छ । कतिपयले आफ्नो देशका युवाहरूलाई ‘भाडाका सिपाही’को रूपमा पठाउने यो परम्पराको कारण अन्तर्राष्ट्रिय जगतमा नेपालको बेइज्जत भएको समेत ठानेका छन् । निश्चय पनि यो राष्ट्रिय बहसको गम्भीर विषय हो ।
पहिलो विश्वयुद्धमा नब्बे हजार र दोस्रो विश्वयुद्धमा एकलाख बीस हजार नेपालीहरू बेलायती सेनाको तर्फबाट सहभागी भएका थिए । नेपाल आफैँ दुवै विश्वयुद्धमा संलग्न थिएन, तर ती दुई युद्धमा गरेर चालिस हजारभन्दा बढी नेपालीले जीवन आहुति दिए। हजारौं घाइते र अपाङ्ग भए ।
यसरी संयुक्त अधिराज्यको निम्ति नेपाली नागरिकहरूले पुर्याएकाे योगदानको बदलामा ब्रिटिश सेनामा कार्यरत सैनिकहरूले अझै पनि पूर्ण न्यायोचित व्यवहार पाएका छैनन् । धेरै लामो समयसम्म एकै प्रकारको कामका बाबजुद बेलायती र नेपालीका बीचमा तलब, भत्ता र सुविधामा विभेद कायम थियो । हाल धेरै सुधार भएता पनि अझै बेलायती सेनामा कार्यरत नेपालीहरू आफ्नो न्यायोचित समान हक र अधिकारका निम्ति संघर्षरत रहेका छन् ।
अर्कोतर्फ नेपालसँगको सम्बन्धलाई बेलायतले कुनै विशेष महत्त्व र प्राथमिकता दिएको पाइँदैन । सम्बन्ध नितान्त औपचारिकतामा सीमित रहेको छ । विगतमा भौतिक पूर्वाधारको क्षेत्रमा केही योगदान रहेता पनि अहिले आएर नेपालको आर्थिक विकासमा संयुक्त अधिराज्यको भूमिका नगण्य रहेको छ । नेपाल र संयुक्त अधिराज्य बीचको व्यापारको आयात पनि साह्रै सानो छ ।
त्यति मात्र होइन, बेलायतीहरूले नेपाल प्रवेशको निम्ति विमानस्थलमा नै ‘भिसा अर्थात् प्रवेशाज्ञा’ पाउन सक्छन्, तर बेलायत भ्रमण गर्न चाहने नेपालीहरूले त्यस्तो सुविधाको कुरा त परै जाओस् काठमाडौँबाट ‘प्रवेशाज्ञा’ पाउन पनि सक्दैनन् । ‘प्रवेशाज्ञा’को लागि नेपालीको राहदानी दिल्ली वा टर्की पठाइन्छ। लामो समयको प्रतिक्षा पछि मात्र ‘भिसा’ पाउने वा नपाउने ठेगान लाग्छ ।
अक्टोरलोनीले नेपालीहरू प्रति देखाएको सम्मान तथा नेपाली युवाहरूले बेलायती महारानीको सेवा र संयुक्त अधिराज्यको सार्वाभौमिकताको रक्षाको निम्ति गरेको योगदान अहिले ग्लानि र उपहासमा परिणत भएजस्तो देखिन्छ । ईडनबराको संग्रहालय भ्रमणको बेला मलाई यस्तै अनुभूति भयो ।
नेपाल र संयुक्त अधिराज्यकाबीचचको सम्बन्धलाई सदृढ तुल्याउन तथा समयानुकूल नयाँ उचाइमा पुर्याउन दुवै देशका सरकार तथा निजी क्षेत्रले समेत विशेष ध्यान दिनु आवश्यक छ ।








