अबकाे वामपन्थी दल कस्ताे हुनुपर्छ ?

काठमाडाैँ । वामपन्थी नेता घनश्याम भुसालले देशमा नामका मात्रै वामपन्थी दलहरू रहेकाे बताएका छन् । अब वास्तविक वामपन्थी दल निर्माणकाे प्रारम्भ हुनुपर्ने भन्दै उनले निकै पहिले वामपन्थी दलहरू भएपनि पछिल्लाे समय वामपन्थी भनाउँदा दलहरूले वामपन्थीकाे चरित्र नै भुलेकाे बताएका छन् । नेपाल अध्ययन केन्द्रले चलाएकाे बहस ‘आजकाे वामपन्थ’ माथि आफ्नाे धारणा राख्दै उनले यस्ताे बताएका हुन् ।

उनले अबकाे वामपन्थी दलहरू कस्ताे हुनुपर्छ ? भन्नेबारे पनि आफ्नाे धारणा राखेका छन् । उनले मूलत: ३ वटा चरित्र वामपन्थी भन्ने दलहरूमा हुनैपर्ने बताएका छन् । त्यसलाई यसरी बुँदागतरूपमा प्रस्तुत गरिएकाे छ ।

१. आफ्नाे कार्यक्रम आफैँ बनाउने

घनश्याम अबकाे वामपन्थी दलहरूले आफ्नाे कार्यक्रम आफैँ बनाउन सक्नुपर्ने बताएका छन् । ती दलहरूले आफ्ना मातहतका कमिटीहरूलाई पनि स्वतन्त्र छाेड्नुपर्ने विचार उनकाे छ । ‘गरिबी, राेजगारी, शिक्षा, स्वास्थ्य, महिला, दलित, आदिवासी-जनजाति, अल्पसंख्यक र तिनकाे समावेशी प्रतिनिधित्व, उद्यमशीलता, प्रतिव्यक्ति आय हुँदै पर्यावरणसम्मकाे याेजना आफैँ बनाउने पार्टी चाहिन्छ,’ उनले भनेका छन्, ‘तलदेखि माथिसम्मका कमिटीहरूले बनाउनुपर्छ । गाउँ कमिटीले आफ्नाे ठाउँमा, जिल्ला कमिटीले आफ्नाे ठाउँमा, प्रदेश कमिटीले आफ्नाे ठाउँमा र केन्द्रीय कमिटीले याे मुलुककाे प्रतिव्यक्ति आय कति वर्षमा कति पुर्‍याउँछुदेखि लिएर पर्यावरण मैले कसरी सुधार्छुदेखि लिएर कति राेजगारी मैले उत्पादन गर्छुदेखि लिएर यी सबैकाे कुराकाे दुनियाँका सामुन्ने घाेषणा गरेर आउने पार्टी चाहिन्छ ।’

त्यसले राष्ट्रिय पुँजीकाे विकास गर्ने जिकिर घनश्यामकाे छ । ‘र, त्यसले आइडीयाेलजिकल्ली दलाल पुँजीवादसँग लड्छ । यसरी व्यवहार र सिद्धान्तसँग जाेडिन्छ,’ उनले भनेका छन् ।

२. सबै कमिटी अनिवार्य निर्वाचित

उनी अबकाे वामपन्थी दलहरूकाे हरेक कमिटी निर्वाचित हुनुपर्ने बताउँछन् । ‘अनिवार्यरूपले निर्वाचित हुन्छ, त्यसमा कसैकाे विशेषाधिकार रहँदैन । माथि भनिएझैँ मैले के गर्छु भन्ने आधारमा मान्छेकाे याेग्यता निर्धारण हुनुपर्छ,’ घनश्यामले भनेका छन् ।

नेकपा एमालेकाे १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष केपी शर्मा ओलीकाे विशेषाधिकारकाे प्रसङ्गा जाेड्दै उनले भनेका छन्, ‘मैलेचाहिँ साैराहा काण्ड भनेकाे थिएँ । एकजना कमरेड उठेर अध्यक्षज्यूले घाेषणा गर्नुहुन्छ, हामी तालीले पारित गराैँ भनेर भन्नुभयाे । त्यसपछि त्यही भयाे । अब यस्ताे हुनुहुन्न ।’

३. नकमाएकाे सम्पत्ति नखाने नेताहरू

घनश्याम नकमाएकाे सम्पत्ति नखाने नेताहरूले अबकाे वामपन्थी दलहरू हाँक्नुपर्ने उनकाे विचार छ । ‘नकमाएकाे सम्पत्ति नखानेहरूमा पार्टी हुनुपर्दछ,’ उनले भनेका छन् ।

आज भएका वामपन्थी र गैरवामपन्थी दलहरू सबै राज्य दाेहनबाट चलिरहेकाेजिकिर गर्दै उनी थप्छन्, ‘आज राज्य दाेहन गरेर खानेछन् धेरै । त्यसमा १५ लाख मान्छेहरू छाैँ हाेला, त्यसमा हामी पनि छाैँ, कांग्रेस पनि छ । सबै यही हाे । यसमा कुनै फरक छैन ।’

राजय दाेहनबिना पार्टी नचल्ने ठाेकुवा लगाउँद उनले भने, ‘यदि यसाे भयाे भनेचाहिँ वामपन्थी चल्छ । नत्र बन्दैन ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *