टिप्पणी

सुइँकुच्चा ठाेक्दै सहकारी, बचतकर्ताका पुर्पुराेमा हात !

काठमाडाैँ । राजधानीका सहकारीहरू यतिखेर धमाधम बन्द हुने अवस्थामा पुग्दैछन् । कतिपय बचतकर्ताको रकम नै लिएर भागिसकेका छन् भने केही भाग्ने क्रममा छन् । आइतबार मात्रै पनि गौतमश्री सहकारी संस्थाका सञ्चालक बचतकर्ताको साढे ५ अर्ब रुपैयाँ लिएर फरार भएकाे समाचारहरू हामीले पढ्याैँ ।

सहकारी सञ्चालकहरूले टाप कसेपछि बचतकर्ताहरूकाे बिचल्लीमा छन् । कतै तपाईंहरूको बचत रकम भएको सहकारी भाग्दै त छैन ?  डुब्ने अवस्थामा त आइसकेको छैन ? यसमा चनाखो हुनुपर्ने बेला आएको छ । उपत्यका बाहिरका जिल्लाका सहकारीहरू भागेर बचतकर्ताहरू सडकमा ओइरिएका छन् । केही महिना अघिदेखि सहकारीको भाग्ने क्रम ह्वात्तै बढेको पाइन्छ ।

अहिले जताततै सहकारी भागेका कुराहरू मात्र सुन्नमा आइरहेको छ । हाम्रो पैसा डुब्यो भनेर बचतकर्ताहरू पिरोलिएका छन् । अरुको अवस्था देखेर हाँस्नु र टुलुटुलु हेरेर बस्नुको साटो आफ्नो बचत भएको सहकारीमा गएर बुझ्नु राम्रो हो । किनकी यतिबेला सहकारीमा भएको सबै रकम कुम्ल्याएर सञ्चालक बेपत्ता भएका छन् ।  त्यसैले पहिल्यै नै सतर्क हुनु नै बेस होला । थोपा-थोपा गरेर जम्मा गरेको रकम बोकेर हिँडेपछि बचतकर्तालाई मर्नु न मोटाउनु भएको छ ।

१ हजारदेखि २० लाखसम्म डुबेको कुराहरू बाहिर आइरहेका छन् । पछिल्लो समय एउटै घरमा पाँच वटासम्म सहकारी छ । ती सहकारीले दैनिक बजारबाट रकम उठाएपनि उचित ठाँउमा लगानी नगर्दा डुबेको कुरा स्पष्ट बुझिन्छ । सम्बन्धित निकायले बेलाबखत सहकारीको अनुगमन गर्ने चासो देखाएनन् जसको कारण आज लाखौं जनताको घरबास उठ्ने अवस्था बनेको छ । भाग्ने सहकारीको खोजतलास गरी कारबाही गर्न सरकारले ध्यान दिइएको पाइदैन ।

जनताको बिचल्ली भइसक्दा पनि सरकार मौन बसेको छ । सहकारीमा लगानी गर्ने धेरै मानिस सडकछाप बनिसकेका छन् । तर, सरकार सहकारीमा रकम जम्मा नगर्नुस् बरु बैंकमै लगेर राख्नुस् भनेर एउटा सूचनासमेत जारी गर्दैन । सहकारीमा पैसा राख्नुको दुईटै कारण छन् । एउटा बढी ब्याज र अर्को कर्जा । ब्याजको लोभमा पर्दा साँवा नै गुमेको छ । सहकारी कस्तो मान्छेले खोलेका छन् ? सञ्चालकमा कस्ता व्यक्ति बसेका छन् ? बुझ्दै नबुझी पैसा राख्दा यो हालत भएको हो ।

सहकारीको साधारण सभामा जाने र गएकोबापत् खाममा पैसा बोकेर हिँड्ने बानी छ, बचतकर्ताको । तर, त्यहाँ कार्यसमितिमा भएका व्यक्तिहरू उनीहरूले चिन्दैनन् । सहकारीहरू धेरै भागेको र धेरैले पैसा हिनामिना गरेको भनेर सहकारी विभागले भनिरहेको छ । विभागकाअनुसार कतिपय सहकारीहरू घाटामा छन् । तिनीहरूको आज न भोलिको अवस्था बनिसकेको बताइन्छ । विभागले यसो भनिरहँदा जनता आफैँ पनि अलिकति जागरुक हुनुपर्छ । विभागले सहकारीको अनुगमन आफूले नभई वडा र नगरपालिकाले गर्ने हो भनेर पन्छिएको छ ।

वडा र नगरपालिका सुनेपनि नसुनेझैँ गरी बसेको छ । न भाग्ने सहकारीको खोजतलास गर्छ । सहकारी डुब्ने अवस्थामा पुग्दा पनि एकचोटी पनि निरीक्षण गरेको पाइँदैन । यता, जनताको पैसा कुम्ल्याएर भाग्ने सहकारीको दर्ता खारेज पनि गर्दैन । हिजो सहकारीका अध्यक्ष आजका मेयर र वडाध्यक्ष हुन् । सहकारी छोडेर जनप्रतिनिधि बनेकाहरू यत्तिकै छन् । आफ्नै टोलीको भएकाले अनुगमन नगरेको बुझिन्छ । सहकारीले गर्दा हामी डुब्याैँ भनेर सडकमा ओइरिनेको संख्या दिनानुदिन बढिरहेको छ ।
सहकारीमा डिपोजिट गर्ने पनि डुबे, कर्जा लिने पनि सोत्तर भए । सहकारीको यस्तो ठगीधन्दा मौलाउँदा सरकार के हेरेर बसिरहेको छ । सहकारीहरू चोर हुन् भनेर यसअघि पनि धेरै पटक स्पष्ट भइसकेको छ । यी गरिबहरूलाई चुस्ने जुको हो भनेर सबैलाई थाहा भएको कुरा हो । सहकारीको कारणले यहाँ करौडौं मान्छेहरू सडकछाप हुने भए । सहकारीमा भएको अरबौं रुपैयाँ डुब्ने भो । आफ्नै आफन्तलाई समेत सहकारीले छोडेको छैन ।

बढी ब्याज दिन्छु भनेर आफन्तलाई पनि फसाएका छन् । अहिले धेरै मानिसहरूले सहकारीमा पैसा राख्न छोडिसकेका छन् । आफ्नो पैसा निकाल्न जाँदा पनि भोलिपर्सि भनेर भाका सारेको सार्‍यै गर्छ । अध्यक्ष र सञ्चालक भेट्न महामुश्किल छ । कर्मचारी मात्र हुन्छन् । सहकारीका ठूलाबडा व्यक्तिहरू सहकारीमा कहिलेकाँही मात्र आँउछन् । प्राय:जसो बेपत्ता नै हुन्छन् । बजारबाट पैसा उठाउन कर्मचारी खटाउने क्रम भने रोकिएको छैन । खोलेका खाता सबैले बन्द गर्न खोजिरहेका छन् ।

तर, पनि पैसा नपाएर उनीहरू के गर्ने के नगर्ने अलमल्ल परेका छन् । साँवा चाहिँदैन ब्याज मात्र भए हुन्छ भन्दा पनि पाइँदैन । पहिले खाता खोल्ने बेलामा निःशुल्क खोल्ने, अनि बन्द गर्ने बेलामा तीन सय रुपैयाँ असुल्ने । सहकारीबाट धेरै जनता पीडित छन् । कर्जा लिनेको घरखेत लिलाम गरिदिएर सडकछाप बनाइदिएका छन् । कतिपयले बचतकर्ताकै पैसा बोकेर उठीबास लगाइदिएका छन् । अझै पनि यत्तिकै छाडा छोडिदिने हो भने कतिपयको घरमा रुवाबासी चल्छ ।

कतिपय सडकको बास काट्न आइपुग्छन् । आत्महत्या गर्ने ठाँउसम्म सहकारीले पुर्‍याइदिन्छ । च्याउ उमारेको जसरी सहकारी खोल्ने दिने पनि सरकार नै हो । जनता ठग्ने र लुट्ने प्रमाणपत्र सहकारीलाई दियो । सहकारीबाट डुबेकाहरू सचेत भइसकेका छन् । अधिकांश महिलाहरू सहकारीमा पैसा नराख्न नै सुझाव दिइरहेको भेटिन्छन् । सहकारीमा पैसा राख्नेको दिनको भोक र रातको निद्रा गायब भइसकेको छ । पैसा फिर्ता नपाँउदा उनीहरूको सुख, चैन सबै छिनिएको छ ।

सहकारीका सञ्चालकहरू मिटर ब्याजमा पैसा लगाउँछन् । तर, डिपोजिटवाललाई थोरै ब्याज दिन्छन् । दिएपनि तीन चार प्रतिशत मात्र दिन्छन् । सहकारीहरूले कर्जा लगानी गर्दा धितो राखेर १६.५ प्रतिशतभन्दा बढी ब्याज लिन नपाउने भनेर सहकारी विभागले नियम बनाएको छ । उता, एक प्रतिशतभन्दा धेरै सेवाशुल्क लिन पाइँदैन भनेर स्पष्टरूपमा भनेको छ । तर, सेवाशुल्क तीन प्रतिशतसम्म असुल्ने गरेको पाइन्छ । सहकारीकै कारणले करोडपति रोडपति बनेका छन् ।

कतिपयको मानसिक अवस्था गुम्यो । कतिपय भागेर लुकीछिपी हिँडेका छन् । अब पनि जनता र सरकार चुप लागेर बस्ने हो भने यिनीहरूको ठगीधन्दा झनै मौलाउँदै जान्छ । आफूले जम्मा गरेको पैसा दिन आनाकानी गर्‍याे भने त्यहाँको सञ्चालकलाई कारबाही गर्नुपर्‍याे । सहकारीमा ताला लगाउनुपर्‍याे । बढी ब्याज दिने प्रलोभनमा जनताहरू पर्नुभएन । अहिले अधिकांश सहकारीको अवस्था तनावग्रस्त पाइन्छ । पैसा नपाएर आम सर्वसाधारणहरू चिन्तामा छन् ।

हप्ता बितिसक्दा पनि पैसा नपाएको गुनासोहरू सुन्नमा आइरहेको छ । मुलुकमा आर्थिक तरलता बढेको छ । अधिकांश मुलुकमा आर्थिक संकट आइसकेको छ ।  एकातिर अर्थविद्हरू नेपालको अर्थतन्त्र धरासायी बनेको र श्रीलंकाकै बाटोमा गएको भनेर खुलेर भनिरहेका छन् । यता, हजार र पाँच सयको नोटमा प्रतिबन्ध लगाएर दुई हजारको नोट बजारमा ल्याउनुपर्छ भनेर आवाज पनि नउठेको होइन । आम नागरिकले घरमै पैसा लुकाउँदा वित्तीय संस्थाहरू टाँट पल्टिसकेका छन् ।

व्यापारीहरूले समेत वित्तीय संस्थामा पैसा राख्न छोडिसकेका छन् । किनकी उनीहरूले अहिलेको अवस्थालाई राम्ररी बुझेका छन् । नेपाल राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीले नेपालको अर्थतन्त्र श्रीलंकाको जस्तै हुन्छ भनेपछि एकैदिन ६३ अर्ब रुपैंया जनताले बैंकबाट निकाले । अहिले बैंकमा डिपोजिट गर्ने शून्य छन् तर पैसा निकाल्नेको भीड छ । बैंकलाई त विश्वास गरेनन् भने सहकारीलाई कसले विश्वास गर्ने ? हामीले सहकारी र बैंकमा पैसा राखेका छौं भनेर निर्धक्क बस्ने बेला छैन ।

भोलि टाउको हात राखेर रुनुभन्दा आजै सजग भएको राम्रो । राष्ट्र बैंकले हालैमात्र मौदिक नीति ल्याएको छ । यसलाई मूल्याकंन गर्दै बैंकका सञ्चालकहरूले बैंकहरू अब डुब्छ भनेर बताइसकेका छन् । उद्योग व्यवसायी महासंघका अध्यक्ष शेखर गोल्छाले पनि राष्ट्र बैंकको नीतिले व्यापार व्यवसाय डुब्छ भनेर भनिसकेका छन् । सोचेर, विचार गरेर एकदुई जनाले मात्र पैसा जम्मा गरिरहेका छन् । एक सयमध्ये ९८ प्रतिशतले त घरमै पैसा राखेका छन् । सहकारीमा काम गर्ने कर्मचारीहरूले लामो समयदेखि तलब पाएका छैनन् ।

घरधनीले समेत घरभाडा पाउन सकेका छैनन् । सहकारी र बैंकसँग कर्जा दिनलाई पैसा छैन । कर्जा दिदाँखेरि त आम्दानी हुने हो । घुस, सेवाशुल्क र बढी ब्याजले गर्दा त सहकारी चलिरहेका थिए । आम्दानी छैन, खर्च बढेको बढ्यै छ । वित्तीय संस्थाले हिजोको दिनमा ऋणीलाई आत्महत्या गर्नसमेत बाध्य बनाएका छन् । एक किस्ता नतिर्नेबित्तिकै धम्काउने, पत्रिकामा निकाल्ने, गुण्डा पठाउने गरेर धितो नै खाइदिने कामसमेत भयो । अहिले त्यसैको पाप कराएकोजस्तो देखिन्छ । वित्तीय संस्थाहरूले लुटतन्त्र मच्चाएका छन् । यिनीहरू दलाली हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *