मधेसी को हुन् भन्ने अवधारणा स्पष्ट पार्न मधेसी आयोगलाई संसद्काे निर्देशन

काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको महिला तथा सामाजिक समितिले मधेसी समुदायको स्पष्टता कायम गर्न मधेसी आयोगलाई निर्देशन दिएको छ ।

सिंहदरबारमा सोमबार बसेको समिति बैठकले निश्चित आधारमा तय गरिने कुनै जात वा समुदाय मधेसी हुन भन्ने अवधारणामा स्पष्टता नआएसम्म आयोगको कार्यक्षेत्रको दायरा निक्र्यौल हुन नसक्ने र कार्यसम्पादनमा समेत अन्यौलता आउने देखिएको भन्दै मधेसी समुदायको स्पष्टता कायम गर्न मधेसी आयोगलाई निर्देशन दिएको हो ।

बैठकले संघीय एवं प्रदेश सरकारले कार्यान्वयन गर्ने मधेस सम्बद्ध कार्यक्रमहरू समेत समन्वयमा हुन नसकेको देखिएको भन्दै सिफारिस भएका नीतिहरू, कार्यक्रमहरूको प्रभावकारिताको मूल्याङ्कन गर्न, प्रदेश एवं स्थानीय तहसँग समन्वय गरी कार्यक्रमहरू दोहरिन नदिने गरी कार्यसम्पादन गर्न पनि मधेसी आयोगलाई निर्देशन दिइएको समिति सभापति निरुदेवी पालले जानकारी दिए ।

त्यस्तै, बैठकले मधेसी, थारु, मुस्लिम, आदिवासी जनजाति लगायतका समूहमा हुने कार्यक्रमहरूमा दोहोरोपना हुने गरेकोले सामान्य प्रशासन मन्त्रालयको समन्वयमा नदोहरिने किसिमले कार्यक्रम गर्न मधेसी आयोग लगायत अन्य आयोगहरूलाई निर्देशन दिएको सभापति पालले जनकारी दिए ।

त्यस्तै, बैठकले मधेसी समुदायभित्रको उत्पीडन, दाइजो बोक्सी प्रथा जस्तै कुसंस्कारलाई नियन्त्रण गर्न आयोगको महत्त्वपूर्ण योगदान रहने भन्दै यसका लागि स्थानीय तहसँग प्रभावकारी समन्वय गरी निरोधात्मक प्रकृतिका कार्यलाई प्राथमिकता दिन पनि मधेसी आयोगलाई निर्देशन दिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 1 =