कर्णालीका ११ स्थानीय तहका १०९ विद्यालयमा नर्स राखिँदै
२०७९ साउन १६ गते

सुर्खेत । कर्णाली प्रदेशका ११ वटा स्थानीय तहमा रहेका विभिन्न एक सय नौ वटा विद्यालयमा नर्स राखिने भएको छ । विद्यालय नर्स कार्यक्रम अन्तरगत विद्यालयमा नर्स राखिने भएको हो ।
विद्यालय तहबाट नै बालबालिकालाई स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्ने उद्देश्य यस कार्यक्रमको रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले निकालेको स्थानीय तह कार्यक्रम मार्ग निर्देशनअनुसार चालु आर्थिक वर्षमा देशभरका दुई सय ३२ विद्यालयमा नर्स नियुक्त हुनेछन् ।
मन्त्रालयकाअनुसार कर्णाली प्रदेशका ११ स्थानीय तहका एक सय नौ वटा विद्यालयमा नर्स राखेर यस वर्ष वर्षदेखि विद्यालय नर्स कार्यक्रम सुरु हुनेछ ।
जस अन्तर्गत सुर्खेतको वीरेन्द्रनगर नगरपालिका भित्रका २०, भेरीगंगा नगरपालिकाका १० वटा विद्यालय रहेका छन्। दैलेखको नारायण नगरपालिकाका १०, कालिकोटको खाँडाचक्र नगरपालिकाका १० वटा विद्यालय, जुम्लाको चन्दननाथ नगरपालिकाका ५ वटा, डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकाका ५ वटा विद्यालय, हुम्लाको सर्केगाड गाउँपालिकाका ४ वटा विद्यालय रहेका छन् ।
त्यस्तै, सल्यानको शारदा नगरपालिकाका १० वटा विद्यालय, त्रिवेणी गाउँपालिका भित्रका ११ वटा विद्यालय, जाजरकोटको छेडागाड नगरपालिकाका १४ र रूकुमपश्चिमको मुसिकोट नगरपालिका भित्रका १० वटा विद्यालयमा नर्स राखिने भएको छ ।
एक विद्यालय एक नर्स कार्यक्रम तत्कालीन स्वास्थ्य मन्त्री गगन थापाले सुरु गरेका थिए । उनले उक्त कार्यक्रम सुरु गर्नुको मुख्य दुई उद्देश्य विद्यालय तहबाटै बालबालिकालाई स्वास्थ्य जीवनशैली अपनाउन प्रेरित गर्ने र विद्यालयमै आइपर्ने स्वास्थ्य समस्या समाधान गर्ने राखेका थिए ।
२०७९ साउन १६ गते
प्रतिक्रिया
सम्बन्धित








