गोर्खा सैनिकको जीवनमा आधारित ‘सोल अफ द कमान्डो’ मंसिर २ देखि

काठमाडौँ । गोर्खा सैनिकको जीवन कथामा आधारित चलचित्र ‘सोल अफ द कमान्डो’ बेलायत, नेपाल र क्यानडामा प्रदर्शन गर्ने तय भएको छ ।

ग्रयान्ड मास्टर राजकुमार राई अभिनित उक्त चलचित्र आगामी अगस्ट २७ मा बेलायतको अल्डरसटमा, सेप्टेम्बर २४,२५ मा क्यानडा र नोभेम्बर १८ (मंसिर २ गते) नेपालमा प्रदर्शन हुन लागेको अभिनेता ग्रयान्ड मास्टर राजकुमार राईले जानकारी दिए ।

चलचित्रमा पूर्व गोर्खा सैनिक राजकुमार राई मुख्य कलाकारको भूमिकामा छन् ।

उनी उक्त चलचित्रका एक्सन अभिनेता हुन् । त्यस्तै चलचित्रमा राईसँगै कमला खापुङ लिम्बु, शेषुका राई, मिलन राई, रवि थापा, रुपेश झा, शिशिर बङ्गेल, नरेन खड्का, पुष्प श्रेष्ठ, सीमा राई, नरेन्द्र लिम्बु, पूर्ण लिम्बु, संगीता लिम्बु र उनकी छोरीको मुख्य अभिनय छ । चलचित्र निर्देशन युवराज (वीरबहादुर) राईले गरेका हुन् भने कार्यकारी निर्माता, विजय एल राई र निर्माता मिलन राई, रवि थापा र धन लिम्बू रहेका छन् ।

निर्माता प्रस्तुतिकर्ता विजया राई, रवि थापा, धन लिम्बु, मिलन राई रहेका छन् भने फिल्म सिलिचुङ फिल्म प्राइभेट लिमिटेडले निर्माण गरेको हो । छायांकन दीर्घ गुरुङ, द्वन्द्व एनबी महर्जन, गायक राजेश पायल राई, गायिका बबिना किराँती, संगीत सन्तोष दुमी, आनन्द राई छन् । पोस्ट प्रोडक्सन विमल धमला र सीमा राई छन् । ग्रयान्ड मास्टर राजकुमार राईले चलचित्र प्रदर्शनबाट सकंलित केही रकम च्यारिटीमा समेत खर्च गर्ने जानकारी दिए ।

को हुन् ग्रयान्ड मास्टर राजकुमार राई ?

ग्रयान्ड मास्टर राजकुमार राई नेपाललाई अन्तर्राष्ट्रिय क्षेत्रमा चिनाउने प्रसिद्ध तेक्वान्दो खेलाडी हुन् । उनी ७औँ डिग्री तेक्वान्दो ब्लाकबेल्ट पनि हुन् । प्रारम्भिक दिनहरूमा उनी सौखिन खेलाडी हुनुहुन्थ्यो । राष्ट्रिय र अन्तर्राष्ट्रिय धेरै खेलहरूमा धेरै पदकहरू जितेका छन ।

१९८४ सालबाट नै अन्तर्राष्ट्रिय च्याम्पियनसिप जित्न सफल भएका उनी नेपाल र हङकङको प्रतिनिधित्व गरेर धेरै पदक पनि हासिल गरिसकेका छन् । ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसिप, हङकङ नेसनल तेक्वान्दो च्याम्पियनसिप, एसियन तेक्वान्दो च्याम्पियनसिप, एसियन गेम, विश्व तेक्वान्दो च्याम्पियनसिप, साफ गेमहरूमा बेजोड प्रतिभा देखाएर देशको नाम चिनाएका छन् ।

नेपाल, हङकङ, फिलिपिन्स, दक्षिण कोरिया, पाकिस्तान, स्पेन, इरान र अन्य देशहरूमा गई खेल जितेको थुप्रै रेकर्डहरू छन् । १९९९ सालको साफ गेममा स्वर्ण पदक, १९८४, १९८५, १९८७ र १९८८ सालमा लगातार ब्रिटिस आर्म फोर्सेस तेक्वान्दो च्याम्पियनसिप स्वर्ण पदक जितेको इतिहास छ । र अरू गेमहरू पनि धेरै नै जितिसकेका छन् ।

ग्रयान्ड मास्टर राई खेलकुदबाहेक चलचित्र क्षेत्रमा पनि प्रवेश गरिसक्नु भएको छ । ‘द कमान्डो’फिल्ममा मुख्य पात्रको भूमिका निभाएका छन् । २००२ सालदेखि क्यानेडियन नेसनल एक्टर एसोसिएसन फिल्मका सदस्य पनि हुन् ।

राई ऐमेच्योर बडीबिल्डर पनि हुन् । धर्म श्री नेपाल बडिबिल्डिङ च्याम्पियनसिप १९९९ मा रजत पदक हासिल गरेका थिए । खेल क्षेत्रमा राईले पुर्‍याएको निरन्तर लगावलाई देखेर नेपाल सरकारले गोरखा दक्षिण बाहुबाट विभूषित गरेको छ ।

भिडिओः

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *