जनताले स्थानीय सरकार घर-घर छ भन्ने आभास गर्नेगरी काम गर्छु : मिनाकुमारी लामा (अन्तर्वार्ता)

'महिला भएर चुनौतीसँग भाग्नु हुँदैन, नगरवासीलाई उत्पादनसँग जाेड्छु'

काठमाडौँ । स्थानीय तह सदस्य निर्वाचन २०७९ मा सत्तारुढ पाँचदलीय गठबन्धनभित्र भाग लगाइँदा ११ उपमहानगरपालिकामध्ये हेटौंडा नेकपा (एकीकृत समाजवादी) को भागमा पर्‍याे । र, एकीकृत समाजवादीले नेता मिनाकुमारी लामालाई टिकट दियो । अन्तत: उनी आफ्नो पूर्वदल नेकपा (एमाले) का अनन्त पौडेललाई फराकिलाे मतान्तरले पराजित गर्दै नगरप्रमुखमा निर्वाचित बनिन् ।

मिनाकाे जितले मकवानपुरवासीले पहिलाेपटक महिला नेतृत्व पाए । २०७४ सालको स्थानीय निर्वाचनमा एमालेको तर्फबाट हेटौंडाकै उपप्रमुख पद सम्हालेकी उनले दाेस्राे इनिङ्समा महानगर प्रमुखकाे बाजी मारिन् ।

मिना २०४६ सालयता अनवरत राजनीतिक यात्रामा छन् । एलएलबीसम्मको अध्ययन पूरा गरेकी उनले विभिन्न अन्य सार्वजनिक पदहरूसमेत धारण गरेसकेकी छन् । २०७१ सालमा एमाले मकवानपुरको उपसचिव र विद्यार्थी इन्चार्जको रूपमा समेत काम गरेकी उनी ७१ सालमै अखिल नेपाल महिला संघ मकवानपुर जिल्ला सचिवसमेत बनिन् । यस्तै २०७२ सालमा नेपाल लोकतान्त्रिक आदिवासी जनजाति महासंघको केन्द्रीय सदस्यसमेत बनेकी उनीसँग आदिवासी जनजाति जिल्ला समन्वय समिति, मकवानपुरको उपाध्यक्ष बनेर काम गरेकाे अनुभव छ ।

विभिन्न सामाजिक एवम् सामुदायिक जीवन व्यतीत गरेपछि पछिल्लाे स्थानीय निर्वाचनबाट हेटाैंडा उपमहानगरपालिकाकाे प्रमुखकाे जिम्मेवारी पाएकी मिनासँग मकालुखबरले  गरेकाे कुराकानीकाे सम्पादित अंश :—

एमालेको किल्ला तोड्दै हेटौंडा उपमहानगरमा निर्वाचित हुनुभएको छ, कस्तो अनुभव भइरहेकाे छ ?
अब निर्वाचित भएपछि खुसी त लाग्नै नै भयो, म पनि खुसी छु । त्याेसँगै फेरि चुनाैतीहरू पनि छन्, सबैलाई सन्तुलन मिलाएर अगाडि बढाउने काेसिसमा छु । जिम्मेवारी पनि बढेको छ । धेरै काम गर्नै बाँकी छ । प्रमुख भएपछि सबै कुराहरू सम्मानपूर्वक लिनुपर्ने र काम गर्नुपर्ने अवस्था छ । सावधानीपूर्वक काम गर्नुपर्छ भन्ने थाहा छ र प्रयास पनि उसैगरी गरिरहेकाे छु ।

काम गर्न कतिको चुनौतीपूर्ण छ, हाम्रो समाजमा महिलाप्रतिकाे दृष्टिकाेण अझै पूर्णरूपमा सुधारिएकाे छैन भनेर भनिन्छ, याे विभिन्न घटनाक्रमहरूले पुष्टि गरेका पनि छन् । तपाईं याे विषयलाई नगरप्रमुखले गर्नुपर्ने कामसँग कसरी जाेड्नुहुन्छ ? 
सर्वप्रथमत: कुनै पनि पद सहज हुँदैन, चुनौतीपूर्ण नै हुन्छ । सबैजनाको लागि त्यो पद प्रतिस्पर्धात्मक र चुनौतीपूर्ण नै हो । तर महिलाका लागि अझै चुनाैतीपूर्ण छ जस्ताे लाग्छ । हाम्रो समाजमा महिलालाई हेर्ने दृष्टिकोण अझै शताब्दीदेखिकै छ । याे परम्पराले महिलाहरूलाई केहीरूपमा अप्ठ्याराेमा पार्छ । महिलाप्रति बनाएको अवधारणाले गर्दाखेरी महिलाहरू मायालु र दयालु भन्ने हिसाबले मात्रै लिइन्छ, त्यसले पनि महिलाहरूकाे मनाबेल घटाउँछ । त्यसले म कमजोरी छु की भन्ने बनाएको छ । त्यसकारण पुरुषलाई भन्दा महिलालाई धेरै चुनौतीहरू छन् । तर ती चुनाैतीहरूलाई पार गर्न सक्नुपर्दछ । हामीले समाजको धारणा परिवर्तन गर्नु जरुरी छ । यी धारणाहरूविरुद्ध कामहरू गर्नुपर्ने हुन्छ र प्रयास पनि त्यसैगरी गरिएकाे छ ।

तपाईंले कस्ता-कस्ता चुनौतीहरू भेग्नुभएको छ बताइदिनुहोस् न !
एउटा महिला भएर कसरी काम गर्ला भन्ने सोच त्याग्नु जरुरी छ र त्याग्न लगाउनु अनिवार्य छ । पारिवारिकरूपमा पनि चुनाैतीहरू प्रशस्तै छन् । एउटा महिला भएर कसरी समाज फेस गर्ला भन्ने छ । महिलाले गर्न सक्ला र ? भनेर प्रश्न गर्ने साेधिन्छन् । याे ज्यूँदाे छ । किनकी जनप्रतिनिधि भएपछि उसले हरेक समय जनताको काम गर्नुपर्ने हुन्छ । घर-व्यवहारमा पनि निर्णय गर्ने ठाउँमा महिलालाई दिएको हुँदैन । आमा होस् या बुहारी, श्रीमती, छाेरी हाेस्; निर्णय तहमा राखिँदैनन् । यसले पनि कुनै महिलाका नेतृत्वदायी भूमिकामाथि कतिपय प्रश्नहरू उठ्ने गरेका छन् । यही कारणले भोलि निर्णय र नेतृत्व गर्न नसक्लान् कि भन्ने हिसाबले एउटा चुनौती छ । भोलि समाजमा पनि त्यस्तै चुनौती छ । कति कुराहरूचाहिँ पुरुषले मात्र गर्न सक्छ भन्ने छ । यसकारण यसले गर्न नसक्ला कि, नीति निर्माणको कुराहरू उसले कस्तो बनाउला भन्ने छ ।

कमजोरी होला की ? विकास निर्माणको काममा कति दख्खल होला र भन्ने सामाजिक चुनौती छ । त्यस्तै आर्थिक पाटाेमा पनि उत्तिकै चुनौती छ । स्व-आर्जन गर्न सक्दैनन् कि भन्ने धारणा छ । शैक्षिक चुनौती छ, जुन प्रतिस्पर्धामा शिक्षा हासिल हुने हो त्यो महिलामा नभएको हो कि भन्ने समाजको बुझाइ छ । भन्दै जाँदा चौतर्फीरूपमा महिलालाई चुनौती छ । यी चुनाैतीहरू हामीले फेस गरिरहेकै छाैँ । अब यी चुनाैतीहरूलाई हटाउँदै अगाडि जाने हाे ।

तपाईं भर्खरै बनेकाे एकीकृत समाजवादीकी नेता, एमालेबाट उपप्रमुख हुँदै एकीकृत समाजवादीबाट प्रमुख बन्नुभयाे है ?
अँ भएँ, सबै अचम्मित हुनुभएकाे छ । पार्टीबाट विद्राेह गरेर भर्खरै जन्मिएको पार्टीले जनातामाझ जाँदा महिलालाई पठायाे भनेर धेरै खुसी पनि भए र याे भनेकाे राम्राे हाे । एउटा ठूलाे उपलब्धि भयाे भनाैँ । भोट हाल्नेहरूले हामीले मिनालाई तिजायाैँ भनेर खुसी मनाए । उनीहरूले मिनाले जित्याे भने हाम्रो घरको छोरी, बुहारीको प्रतिनिधित्व हुन्छ भनेर भने । मैसँग पनि कतिजनाले भन्नुभयाे कि याे कुरा, शुभेच्छा दिए । हरेक महिलाको मनोबल बढ्यो भने समाज परिवर्तन हुन्छ भन्ने वर्गले गर्दा पनि म यो स्थानसम्म आएँ अब उहाँहरूका लागि गर्नु छ ।

हेटाैंडा उपमहानगरकी प्रमुख मिनाकुमार लामा। तस्बिर : मकालुखबर

म पार्टीभन्दा पनि पाँच वर्षसम्म उपप्रमुख चलाएको मान्छे हुँ । मैलो त्यो पदमा रहँदा महिला भएर कमजोर महसुस गरिनँ । जस्ताेसुकै परिस्थितिमा पनि डटेर लागेँ । विकास निर्माणका काममा पनि उत्तिकै लागीपरेँ । कुनै पनि कुरामा म महिला हुँ भनेर पछि हटिनँ, हरेक कुरामा स्थानीय सरकार संचालन ऐन २०७४ अनुसार काम गरेँ । सो कारण मलाई यहाँ आउन सहज भयो । हरेक चिया पसलमा मिनाले काम गरेको छ भनेर सुनियाे । जसले मलाई यहाँसम्म डाेर्‍याउन सहयाेग गर्‍याे । अहिले त कोसेढुङ्गा साबित भएको छ यी अनुभवहरू । मलाई जनताले चुनेका हुन्, भलै मेराे प्रतिनिधित्व फरक पार्टीबाट भयाे हाेल तर मेराे ध्यान जनतामै छ ।

यत्रो विद्रोह गरेर जितेर यो स्थानमा आउनुभएको छ, तपाईंकाे महानगर सपना कस्तो छ ?
हरेक नगरवासीलाई उत्पादनसँग जोड्ने सोच छ र प्रयासहरू पनि यस्तै छ । हेटौंडा विकास चौतफी हुनुपर्छ भनेर म लागेकी हुँ । पूर्वाधार विकासलाई जोड दिएकी छु । पूर्वाधारको विकास भएन भने शिक्षा, स्वास्थ्य अगाडि बढाउन सकिन्न भन्ने बुझेकाे छु । स्वास्थ्य शिक्षासहित खानेपानी व्यवस्थित गर्ने योजना छ । नागरिकलाई दैनिक दिने सेवामा पारदर्शीता होस् भन्ने चाहेर कामहरू त्यसैगरीअगाडि बढेका छन् । समाजवादउन्मुख भएर जाने हाम्रो पार्टीले अवधारणा हाे, त्यहीअनुसार पनि म अगाडि बढ्ने प्रयत्नमा छू । १ हजार ५ सय ४१ जना व्यक्तिको स्वास्थ्य बीमा गर्ने योजना छ । दिनानुदिन दिने सेवामा पारदर्शी होस् भन्ने लागेको छ । हरेक नगरवासीलाई सर्वशुलभभरूपमा सेवा पुर्‍याउने साेचाइ छ । युवालाई सीपसँग प्रविधिसँग जोडेर लान ध्यान दिएको छु ।कृषिलाई प्रविधि र आधुनिकीकरणसँग जोडेर लाने सोच छ । हरेकले उत्पादन गर्न सकेनाैँ भने भोलि त्यो बाँझो जमिनबाट उत्पादन गर्न सक्दैनाैँ भन्ने छ ।

हरेक व्यक्ति उत्पादनसँग जोडेर जानुपर्छ भन्ने लागेको छ, काम पनि त्यसैगरी अगाडि बढाइएकाे छ । महिला प्रतिष्ठान खडा गरेर जाने सोच बनाएकी छु । ‘मेयर छोरी कार्यक्रम’ राखेको छु । हरेक छोरीले पैसाको कारण पढ्न नपाउने अवस्था नआओस् भनेर याे गरेकी हुँ । सामाजिक रूपान्तरणको कुरामा लागेकी छु । हेटौंडामा प्रसूती अस्पताल नभएर दु:ख छ । मेरो एजेण्डा प्रसूती बनाउने छ । पर्यटन प्रवर्द्धनमा पनि जोड दिने हो । नगरको चौतर्फी विकास गरेर हेटौंडावासीलाई स्थानीय सरकार घर घर छ भन्ने आभास दिनेगरी काम गर्नेछु ।

यी सब कुरा त अन्यले पनि भनिआएकै र गर्न खाेजेकै पनि हुन्, मिना लामाले चाहिँ नयाँ गरिन् योचाहिँ, उसको नौलो काम हो भन्ने केही छ ?
मेरो मुख्य एजेण्डा भनेको निम्न वर्गलाई स्वच्छ खानेपानी दिने हो । धेरै ठूलाे कुरा छैन । निम्न वर्गको घरघरमा स्वच्छ खानेपानी पुर्‍याउने मेरो उद्देश्य हो । त्यो पनि नि:शुल्करूपमा खुवाउने मेरो साेचाइ छ । टुकी बालेर बसेकालाई सित्तैमा बिजुली दिने मेरो लक्ष्य छ । स्वास्थ्यमा सिटामोलसमेत किनेर खान नसक्ने नागरिकलाई सहयोग गर्ने हो । दिनदिनै मानिसमा आइपर्ने समस्यालाई समाधान गर्ने सके मेरो ठूलाे काम यही हाे । हाम्रो नगर प्रदेश राजधानी भएको कारणले प्रदेशलाई सबै कुरालाई एउटा नमूना बनाउने मेरो योजना हो । यसका लागि सबै तहसँग सहकार्य गर्ने छु ।

राजनीतिमा लाग्दै गरेका महिलाहरूलाई तपाईंकाे सन्देश र सुझाव के छ ?
सबै महिलाले सबै काम गरेर आउनुभएको छ । सबै कुरा व्यवस्थापन गरेर म यो अवस्थामा आएकी हुँ । यी सबै काम गरेर हाम्री अगाडि बढ्न सक्छाैँ । कसैलाई कारक देखाएर बस्याैँ भने हामी अगाडि बढ्न सक्दैनाैँ ।

समृद्ध वामपन्थी ध्रुवीकरणबाट सम्भव छ ।

त्यसकारण हामी आफ्नो क्षमतालाई बढाउँदै अगाडि बढ्नुपर्छ । यो हाम्रो लागि चुनौतीको कुरा हो । सो कारणले छोरीले अगाडि बढ्न कोसिस गर्नुपर्छ । हरेक चुनौतीलाई व्यवस्थापन गरेर हामीले अगाडि बढ्नुपर्छ । छोरी मान्छेलाई राजनीति गर्न चुनौती छ । परिवार, समाज, समकक्षी सबैबाट चुनौती हुने भएकाले यसलाई फेस गर्दै अगाडि बढ्नुको विकल्प छैन । मेरो कुरा गर्दा त मैले टिकट पाउँदा त महिलालाई जिताउनुपर्छ भनेर पार्टी छाडेर हिँड्नेहरू पनि थिए । त्यो कारण धेरै चुनाैती छ त्यसलाई समान गर्ने प्रयत्नमा निरन्तर इच्छा देखाउनुपर्छ ।

म याे भन्न चाहन्छु कि अब राजनीतिबाट टाढा भागेर हुँदैन । यसमा महिला हाेस् या पुरुष; अब युवाहरू आउन जरुरी छ । आउनुपर्छ ।

राजनीतिमा लाग्ने प्रेरणा कसरी पाउनुभयो ?
मैले राजनीति गरिरहेको छु भन्ने मलाई थाहा थिएन । जब २०४६ सालबाट मैले राजनीति शुरू गरेँ, मैले विद्यार्थी जीवनमा छोरीले खेल्न, बोल्न पाउनुपर्छ भन्दै अगाडि बढेको हो । त्यसपछि महिलाको पक्षामा बोल्दै अगाडि बढेँ । ५० सालमा म विद्यार्थी संगठनको जिल्ला कोषाध्यक्ष भएकी थिएँ । एमालेको जिल्ला उपसचिव हुँदै अनेमासंघमा काम गर्दै यो अवस्थामा आएको हुँ । राजनीति गर्नुपर्छ भन्ने प्रेरणा पाएँ । मेरो दाइले मलाई प्रेरणा दिनुभएको हो । म समाज परिवर्तन र मानिसमा भएको छोरीप्रतिको नकरात्मक सोचाइलाई त्याग्न राजनीतिमा होमिएकी हुँ । मेरो यात्रा रोकिने छैन ।

तपाईं गठबन्धनको साथले निर्वाचित हुनुभएको हाे, अहिले कस्ताे साथ छ गठबन्धनकाे ?
मजस्तो भाग्यमानी कोही छैनजस्तो लाग्छ । किनभने गठबन्धन पनि हाम्रो पाँचदल मात्र होइन । राप्रपासमेतले मलाई साथ दिएकाे छ । अहिले म सबै नगरवासीको नेतृत्वमा छु । हाल ६ दल नगरसभामा छाैँ । यसकारण म गठबन्धनसहित अरु पार्टीले पनि नगर विकास गर्ने लागेका छाैँ । असहयोग छैन । सबैले साथ दिनुभएको छ । पहिला केही हस्तक्षेप गर्न खोजिएको थियो अहिले साथ छ । मलाई खुसी लागेकाे छ । सबैजना नगर विकासकाे पक्षमा हुनुहुन्छ ।

स्थानीय तहसँग जनताले के के माग गर्दारहेछन् ? ती मागहरू आफ्नाे कार्यकालमा पूरा गर्न सकिने रहेछ कि नसकिने रहेछ ?
जनताकाे ठूलाे आकांडा छैन । आधारभूत इच्छा पूरा गर्ने माग छ । जनतालाई बाटाे, पानी, विजुली चाहिएका छ । उहाँहरूका न्यूनतम आवश्यकता छन् । उहाँहरूको छिटो छरितो सेवा पाउने माग हुन्छ । त्यस्तो ठूलाे माग छैन । सबै आवश्यकता त पूरा हुन सकेका छैनन् । तर केही पूरा भएका छन् । पूरा नभएका पूराहरू यो पटक पूरा हुने छन् । त्यो कुराहरू मैले घोषणपत्रमा पनि राखेको छु ।

घोषणापत्रअनुसार तपाईंले काम गर्न सक्नुहुन्छ ?
म सक्छु भनेरै लागेकाे हुँ । म बोलेको कुरा पूरा गर्नेलाई नै आएको हुँ । मैले गर्न सक्ने काम मात्र राखेको छु । योभन्दा अन्य कामहरू पनि गर्ने छु । जनतालाई म यो भन्छु कि हामी धेरै कामहरू अल्झिएका छाैँ । मलाई २ घण्टा हैटौंडा बनाउने अभियानमा साथ दिनुहोस् ।

फरक प्रसंगमा जाउँ, वाम एकताको हल्ला छ यो विषयमा तपाईं के भन्नुहुन्छ ?
मुलुक र जनताको हितमा काम हुनका लागि वाम एकता आवश्यक छ । वामपन्थीहरूकाे ध्रुवीकरणबाट मात्रै समृद्धि सपना पूरा हुन्छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *