नाकाबन्दीकै बेला पेट्रोलियमको कारोबार निजी क्षेत्रलाई दिइएको उद्योगमन्त्रीको दाबी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्रप्रसाद बडूले नाकाबन्दी हुँदा तत्कालीन सरकारले पेट्रोलियम पदार्थको कारोबार गर्न निजी क्षेत्रलाई अनुमति दिएको बताएका छन् ।
सिंहदरबारमा आइतबार बसेको प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति बैठकमा मन्त्री बडूले नाकाबन्दी हुँदा नियमावलीका आधारमा केही निजी क्षेत्रलाई पेट्रोलियम पदार्थको आपूर्ति गर्ने जिम्मा दिएको बताएका छन् ।
उनले कुन सरकारका पालामा कुनै निजी क्षेत्रले कति पेट्रोलियम पदार्थको आयात गरेको छ भन्ने सार्वजनिक गर्ने बताए ।
अरबौँको चलखेलमा आयल निगमलाई निजीकरण गर्ने भनेर नेताहरूले नै निराधार भ्रम फैलाउने काम गरेको उनकाे भनाई छ ।
मन्त्री बडूले अहिले पेट्रोलियम पदार्थको कारोबार निजी क्षेत्रलाई दिने सरकारको कुनै तयारी नरहेको स्पष्ट पारे । अहिलेको मुख्य विषय भने निगमभित्रको सुधार मात्रै भएको उनले बताए ।
उनले निगम अहिले पनि ५० करोड घाटामा रहेको र इन्डियन आयल कर्पोरेसनलाई २२ अर्ब ४० करोड बुझाउन बाँकी रहेको जानकारी दिए । मन्त्री बडूले पेट्रोलियम पदार्थको ढुवानी निजी क्षेत्रबाट हुने गरेको भन्दै ढुवानीको पैसा नपाएका कारण समस्या देखाउने गरेको जिकिर गरे ।
त्यस्तै, मन्त्री बडूले यसअघि पेट्रोलियम पदार्थको मूल्य उच्च हुँदा पनि निगमले जनतालाई थप मार नपार्न अन्तर्राष्ट्रिय मूल्य बन्दा कममा बिक्री गरेको जिकिर गरे । निगमलाई सरकारले सघाउने गरी नै काम गरे पनि केही समस्या भने देखिएको उनकाे भनाई छ ।








