लाइसेन्स लिएर काम सुरु नगरेका आयोजनाको पीपीए रद्द गर्छाैं : ऊर्जामन्त्री भुसाल

काठमाडौँ । पम्फा भुसालले लाइसेन्स लिएर काम सुरु नगरेका जलविद्युत् आयोजनाको पीपीए रद्द गरिने बताएकी छन् ।
नेपाल आर्थिक पत्रकार समाज (सेजन)ले आइतबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा ऊर्जामन्त्री भुसालले करिब १६ सय मेगावाट बराबरका आयोजनाहरूको विद्युत् खरिद सम्झौता (पीपीए) सम्झौता भएर पनि निर्माण हुन नसकेको भन्दै खोलारनदी ओगटेर बस्ने प्रवृत्तिलाई निस्तेज गर्ने गरी कदम चालिने बताएकी हुन् ।
टेक अर पे प्रावधानमा पीपीए गरिएका आयोजनाहरू सुरु नहुँदा वित्तीय जोखिम समेत देखिएकाले यस विषयमा मन्त्रालयले चाडै आवश्यक निर्णय गर्ने उनले बताइन् ।
मन्त्री भुसालले नेपाल विद्युत् प्राधिकरणले पीपीए गरेका करिब ३ हजार २ सय मेगावाटका जलविद्युत् आयोजनाहरू निर्माणाधीन अवस्थामा रहेको जानकारी दिइन् । सरकारले प्रस्ताव गरेको नयाँ विद्युत् ऐनले विद्युत् व्यापार तथा प्रसारण खुल्ला पहुँचको व्यवस्था गरेको भन्दै उनले संसद्को चालू अधिवेशनमा पास हुने भए उक्त ऐनलाई अघि बढाउने र पास नहुने देखिए सदनको अधिवेशन अन्त्य हुने बित्तिकै केही प्रावधानलाई कार्यान्वयनमा ल्याउने बताइन् ।
कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सबै औद्योगिक क्षेत्रलाई पर्याप्त विद्युत् उपलब्ध गराइएको र प्राधिकरणको ध्यान आन्तरिक खपत बढाउनेमा नै केन्द्रित रहेको बताइन् ।
ट्रान्समिसन र सवस्टेशन बनाउनका लागि लगानी बढाउने उनले जानकारी दिइन् । उनले अहिले विद्युतीय गाडीको प्रयोगलाई बढवा दिनुपर्नेमा जोड दिइन् ।
त्यस्तै, उनले ट्रान्समिसन लाइनको अभावका कारण कुनै पनि आयोजनाको विद्युत् खेर जाने अवस्था नरहेको दाबी गरिन् ।








