शताब्दी पुरुषकाे अन्तिम ‘इच्छा’ !

‘मूलघाटकाे माछा पाए अहिले पनि खान्थेँ’

काठमाडौँ । ललितपुरको मंगलबजार नजिकै भीमसेनथानको मन्दिर; मन्दिर पार गरेर केही मिटर अगाडि बढ्दा भेटिन्छ शताब्दी पुरुष सत्यमोहन जोशीको ठिङ्ग उभिएको घर । उनको घर पुग्नुअगावै शिवलिङ्गले स्वागत गर्छ । उही बाटो हुँदै यो म र फोटो जर्नलिस्ट् सरोज बस्नेत शताब्दी पुरुषको घरतर्फ सोझिन्छाैं  ।

शताब्दी पुरुषको घरको गेट छिर्नेबित्तिकै उनका तस्बिरअंकित अनेकन् पुराना सामाग्रीहरूमा आँखा ठोक्किन्छन् । सँगै उनका अन्य तस्बिरहरू यत्रतत्र देखिन्छन् । त्यसले पनि ध्यान नतान्ने कुरै रहेन, यस्तो लाग्छ— म कुनै सङ्ग्रहालयमा छु । त्यहाँ उनले जीवनभर पाएका सम्मान सामाग्रीदेखि उनका मातापिताका तस्बिहरू प्रष्टैसँग देखिन्छन् । तस्बिरहरूसँगै शताब्दी पुरुषका बाबु शंकरराज जोशी र आमा राजकुमारीको शालिक देखिन्छ । शालिकदेखि ती हर–तस्बिहरू एक/एक हेर्ने हो भने त्यहाँ लामै समय व्यतीत गर्न सकिन्छ । हामी भने सरसर्ती मात्रै हेर्‍यौँ । किनकी हामीलाई मुख्यरूपमा शताब्दी पुरुषसँग गफिनु थियो ।

घरको बरन्डामा तुलसी, बाबरी र अन्य रङ्गीविरङ्गी फूलहरू झुलिरहन्छन् । यस्तो लाग्छ कि, ती फूलहरू हामीलाई नै स्वागत गर्न तम्तयार छन् । एकनास बहने हावाका झोकाले फूलहरूमा बहेली खेल्दा फूलहरू खुसीले नाँचेझैँ लाग्छ । जे होस् फरक अनुभूति र अनुभव हुन्छ । त्यहाँ गेट फूलको सौन्दर्य पनि कमचाहिँ छैन । गेट फूलका छेउमा परम्परागत मेचहरू राखिएका छन् । ती सवाजट, फूलहरू अनि वरपरका मुग्ध वातावरणले शताब्दी पुरुषलाई भेटिरहन्छन् जस्तो लाग्ने; शताब्दी पुरुष पनि यी मुग्ध वातावरणबाट टाढा रहँदैनन् । उनी त्यहीँ नजिकै रहन्छन्, परम्परागत मेचहरूमा बस्नेबित्तिक्कै देखिन्छ शताब्दी पुरुष सत्यमोहनका पाको कद ।

१०२ वर्ष पुगेका उनी हामी पुग्दा आफू बस्ने बाहिरको मेच सफा गर्दै थिए । हामी ठिक त्यही बेला पुग्यौँ, जत्तिबेला उनी घाम ताप्ने प्रयोजनका साथ बरन्डामा निस्किएका थिए । शरीर पाको भएपनि तागत भने कम छ जस्तो नलाग्ने; मज्जैले बोल्ने, राम्रैसँग कुरा बुझ्ने अनि गफिन पनि कम जान्नेचाहिँ होइन ।

त्योभन्दा अगाडि उनीतिर सोझिँद गरेका हामीलाई उनैले पो नमस्कार गरे । लाज लाग्यो भित्रभित्रै, नमज्जा भो आफैँलाई, पहिले ’नमस्कार’ भन्न नपाउँदा उनको वजनदार व्यक्तित्वले थिचेजस्तो लाग्यो । नतमस्तक भइयो, उनले हामीलाई कुर्सी देखाउँदै बस्न आग्रह गरे । यसपछि उनी हाम्रो पहिचान÷परिचय खोज्न तम्सिए । हामी आफ्नो परिचय दिएर उनीसँग कुराकानी गर्न थाल्यौँ । उनले हामीले सोधेका प्रश्नहरूको राम्रोसँग जवाफ दिए ।

उनीसँग लामै समय कुराकानी भयो । उनीसँग भएका सवाल–जवाफहरूका आधारमा यसरी एक सामाग्री तयार पारिएको छ । प्रस्तुत छ, यो सम्पादित सामाग्रीः—

‘मलाई डाेर्‍याउन पर्दैन’

शताब्दी पुरुषको जन्म विसं १९७७ सालमा ललितपुरमै भएको हो । उमेरले उनी १०२ वर्ष पुगे । तर, उनको जोश कुनै जवानीको भन्दा कम छैन । उनी देख्दा धेरै पाका देखिए पनि उनी तगडै छन् । उनी अहिलेसम्म हिँड्न, बोल्न र सुन्न मज्जाले सक्छन् ।

यसपटक उनले दुईपटक अस्पताल बस्नपर्‍याे । त्याे बिरामले केही कमजाेर भए उनी । तैपनि उनी सन्चाे हुँदा अझै हिँड्डुल गर्न सक्छन् । उनकी छोरी गंगा मुल्मी भन्छिन्, ‘उहाँ अझै हिँड्न मज्जाले सक्नुहुन्छ ।’ शताब्दी पुरुष पनि भन्छन्— ‘अहिलेसम्म ठिक छु । मलाई डाेर्‍याउनुपरेकाे छैन ।’ उनी बाहिर निस्कन्छन्, घुम्छन् अनि समय व्यतीत गर्छन् । उनले भने, ‘सन्चाे भएकाे बेला हिँड्छु । बाहिर आएर घाम ताप्छु, माथि पेन्टिङ्ग भएको ठाउँसम्म जान्छु । बाहिर निस्कन्छु । मलाई डाेर्‍याउन पर्दैन ।’

उनी खानामा पनि आममानिसले खानेजस्तै खानेकुराहरू खान्छन् । ‘मलाई ज्वरो पनि छैन । प्रेसर पनि अहिले ठिक छ । कहीँ दुखेको जस्तो पनि लाग्दैन । कहिलेकाहीँ बोल्न मन लाग्दैन, दिक्क लाग्छ । यत्ति हाे नभए मलाई ठिक छ,’ उनी थप्छन् ।

अन्तिम इच्छा- ‘चक्रसंवर’

शताब्दी पुरुषसँग अब एउटा मात्रै इच्छा छ, त्याे हाे— ‘चक्रसंवर’ ।

उनले ४५ लाखको लागतमा निर्माण पनि गर्दैछन् । यो निर्माण भइसकेपछि आफ्नो इच्छा पूरा हुने बताउँछन् उनी ।

‘चक्रसंवर’ पाटन बखुमबहालस्थित आफ्नो घरमा निर्माण गर्दैछन् । उनले सन् १९८४ मा स्थापित लोक साहित्य परिषद्लाई गत वर्ष आफ्नाे घरजग्गा दान गरेका छन् ।  परिषद् भवनको दोस्रो तल्लाको भित्तामा तयार हुँदै गरेको ‘चक्रसंवर’ तर्फ इङ्गित गर्दै उनले भनेका छन्, ‘याे मेरो इच्छासँगै एउटा महत्त्वको विषय पनि हाे । अब मलाई केही गर्छु भन्ने लागेको छैन । यो सम्पन्न भएपछि मलाई आनन्दको महसुस हुनेछ । मैले देशका लागि दिनुपर्ने यही एउटा थियाे, दिँदैछु ।’

उनकाअनुसार तन्त्रआनको सबैभन्दा ठूलो सैर्यवाद, पेन्टिङ हो । उनी भन्छन्, ‘यसमा सोहीसँग सम्बधित म्यूजिक जोड्ने हो । कान्छा र कान्छीको जस्तो उताउलो होइन, यसमा हरेक शब्द–शब्दको अर्थ दिने खालको हुन्छ । हरेक तस्बिर बोल्छन् । चर्या गीत–सङ्गीत जोड्ने हो । जो गीत तस्बिरमा हरेक शब्द बोल्ने छन् । यो मेरो एउटा इच्छा हो । अब देशको नाममा यहि छाडेर जाने मेरो सोच छ । यसको आयु पुस्तै पुस्तासम्म रहने छ।’

उनले चित्र बनाउनुभन्दा केही महिनाअघि आफैँले मौलिक पौबा बनाउनेहरूसँग भेटी आफ्नो ‘अन्तिम इच्छा’ स्वरूप परिषद्‌मा पौबा चित्र बनाउने प्रस्ताव गरेको बताउँछन् । उनकाअनुसार चित्रकारलाई बनाउन भनेको ‘चक्रसंवर’ बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो । यसमा बज्रबाराही र संवरको संयोजन भएपछि एउटा चक्र पूरा हुने र जसलाई ‘चक्रसंवर’ भनिने चित्रकार रविन महर्जनले बताए । ‘चक्रसंवर’ को बीचमा पाँचवटा बुद्ध रहने उनले बताए ।

उनकाअनुसार शताब्दीसम्म टिकोस् भनेर काठको फ्ल्याकमा कटन कपडा राखेर बनाइएको यो पौबा २० फिट लामो र ५ फिट चौडा छ ।

संस्कृतिप्रतिको माया

शताब्दी पुरुष पछिल्लो समय संस्कृति र परम्परामा आएको विकृतिप्रति चिन्तित हुन्छन् । याे भुलिँदै गएकाे परिवेश भएकाे त्याे दुखद् भएकाे उनी बताउँछन् । आधुनिकताको नाममा संस्कुतिमाथि प्रहार हुने भन्दै उनले नवीनतम प्रयोग आएका भएपनि कसैपनि संस्कृतिलाई व्यवस्था नगर्ने आग्रह गर्दै उनले भने, ‘मौलिक कला र पहिचान हाम्रा अभिन्न सम्पत्तिहरू हुन् । हामीले सम्पत्तिको जगर्ना सक्नुपर्छ ।’

उनी पछिल्लो समय बढ्दो आधुनिकताले मौलिक संस्कार–संस्कृतिहरूप्रतिको बेवास्ता बढाएकोप्रति चिन्तित छन् । भन्छन्— ‘आधुनिकताका नाममा पुराना सम्पदा र संस्कृतिलाई बेवास्ता गर्ने काम भयो कि भन्ने चिन्ता लाग्छ । आधुनिकता ल्याउनुपर्छ तर मैलिकतालाई मासेर होइन, त्यो उत्तम होइन । हामीले यस धर्तीमा केही न केही छाडेर जान सक्नुपर्छ, सोकारण हाम्रो आफ्नो संस्कुति मास्ने काम गर्नु हुँदैन ।’

जिब्राेमै मूलघाटकाे माछाकाे स्वाद

शताब्दी पुरुषसँग जीवनका थुप्रै सम्झनाहरू ताजै छन् । देशका विभिन्न जिल्लाहरू घुमेको, घुम्दा विभिन्न स्वादका खानाहरू खाएको, समुदायगत अवस्था र रहनसहन नियालेकाे मात्रै हाेइन, खाएका कतिपय स्वादहरू जीवनमै त्यसपछि उनले पाएनन्— जस्ताे कि धनकुटाकाे मूलघाटकाे माछा । २००८ सालकाे कुरा सम्झिँदै उनले भनेका छन्, ‘म आठराई पाँचथर सबै डुलेको छु । मलाई चैनपुर जान मन लागेको थियो, तर म गइनँ । म त्यो स्थानका हिँडेरै गएको हुँ । त्यसपछि घनकुटा आएँ । त्यो बेला बाटो थिएन । यो ८ सालतिरको कुरा हो । त्यो बेला पहाडको खुबै खाना खाइयो ।’

शताब्दी पुरुष सत्यमाेहन जाेशी । तस्बिर : ज्ञानु घिमिरे/मकालुखबर

उनी थप सम्झन्छन्, ‘साँझ पर्न लागेको थियो । धनकुटाको मूलघाटमा मैले आफैँ खोलाबाट ल्याएर खाएको माछाको स्वाद अझै जिब्रोमै छ । एकजनाले त्यहाँ माछा पकाएर खुवाएको थियो, त्योभन्दा मिठो माछा अरु ठाउँ कहीँ खाइएन । मूलघाटको माछा आजीवन मासु नखानेले पनि खाए हुन्छ । अहिले त त्यस्तो माछा कहाँ पाइन्छ र त्यो माछाको मासु खाइरहँदा याद आउँछ । अहिले पनि त्यो माछाको सम्झना आउँदा मुखमा पानी आउँछ ।’

उनले थुक निल्दै भने, ‘त्यो माछा भए अहिले पनि खाने थिएँ जस्तो लाग्छ ।’

देन

जाेशी मात्रै त्यस्ता व्यक्ति हुन् जसले ३ पटक मदन पुरस्कार प्राप्त गरेका छन् । उनले नेपालको लोक संस्कृतिका लागि पहिलोपटक विसं २०१३ सालमा, नेपाली राष्ट्रिय मुद्रा नामक ग्रन्थका लागि दोस्रोपटक विसं २०१७ सालमा र कर्णाली लोक संस्कृति नामक ग्रन्थको लागि संयुक्तरूपमा तेस्रोपटक विसं २०२८ सालमा मदन पुरस्कार प्राप्त गरेका छन् ।

उनले सांस्कृति कर्म र साहित्य कर्मबाट राज्यलाई ठूलाे याेगदान गरेका छन् भने उनले राजकीय भूमिकाबाट समेत राज्यलाई ठूलाे याेगदान गरेका छन् ।

उनी पुरातत्त्व विभागका पहिलो निर्देशकसमेत हुन् । नेपाल राष्ट्र बैङ्क, मुद्रा व्यवस्थापन विभाग टक्सार महाशाखा, राष्ट्रिय समाचार समितिलगायतमा पनि उनी आबद्ध थिए कुनै बेला ।

जोशीको तस्बिरअङ्कित चाँदीको सिक्का निष्कासन गरिएको छ । उनी नेपाली संस्कृति र साहित्यको हिरा हुन् ।

♦ याे पनि:
   शताब्दी पुरुषको ‘अन्तिम इच्छा’ तस्वीरमा
   देश विकासमा सञ्चारमाध्यमकाे ठूलाे भूमिका छ : सत्यमोहन जोशी (अन्तर्वार्ता)

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.