देश विकासमा सञ्चारमाध्यमकाे ठूलाे भूमिका छ : सत्यमोहन जोशी (अन्तर्वार्ता)

काठमाडाैँ। राष्ट्रिय समाचार समिति राससले समाचार सामग्रीमा विविधीकरण ल्याउने उद्देश्यले यही साउन १ गतेदेखि परीक्षण प्रसारणका रुपमा श्रव्यदृश्य सेवा आरम्भ गरेको छ । सरकारी स्वामित्वको मुलुकको एकमात्र समाचार समिति राससले मुलुकका राजनीतिक, आर्थिक, सामाजिक सांस्कृतिक घटनाको छायाङ्कन गरी विशेषगरी टेलिभिजन र अनलाइन सञ्चारमाध्यमलाई लक्षित गरी गुणस्तरीय श्रव्यदृश्य भिजुअल सामग्री उपलब्ध गराउन सुरु गरेको छ ।

विसं २०१८ मा स्थापना भएको समाचारको मुहान राससले अब नेपाली समाचार, अन्तर्राष्ट्रिय समाचार, अङ्ग्रेजी समाचार, आलेख फिचर, फोटो स्वदेशी र विदेशी र अडियो सेवासँगै श्रव्यदृश्य पनि केन्द्रीय कार्यालयस्थित स्टुडियोबाट उत्पादन र वितरण गर्दै आएको छ ।

राससले भिडियो सेवाको परीक्षणकाल एक महिनाको हुने र उक्त अवधिभर समाचार संस्थाहरूका लागि सेवा निःशुल्क उपलब्ध गराउँदै आएको छ । राससको इतिहास, समाचार सामग्री र भिडियो सेवा कस्ता–कस्ता विषयवस्तु समावेश गर्नुपर्ला भन्ने विषयमा राससका पूर्वसञ्चालक समिति सदस्यसमेत रहनुभएका वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीसँग राससका समाचारदाता सुशील दर्नालले गर्नुभएको कुराकानीको सारसंक्षेप यहाँ प्रस्तुत गरिएको छ ।

तपाईं कुनै समय राससको सञ्चालक समितिमा हुनुहुन्थ्यो, त्यतिबेलाको राससको अवस्था कस्तो थियो ?
नेपालमा २००७ सालपछि प्रजातन्त्रको श्रीगणेश भयो । प्रजातन्त्र ल्याइसकेपछि त्यो बेला संविधान बनाउन त्रिभुवनले चुनावको आमनिर्वाचन घोषणा गरेका थिए । त्यो घोषणालाई त्यो बेला त्रिभुवनको स्वर्गवास भएपछि महेन्द्रले ‘क्यारिअन’ गरेको भए देशको अवस्था अर्कै हुन्थ्यो । त्यसबेला संविधानको निम्ति चुनाव हुँदै भएन । उनले अर्कै तरिकाले केके गरे गरे । सबैलाई थाहा भएकै कुरा हो । हुँदाहुँदा शक्ति सबै उनैले लिए । त्यसबेला पार्टीहरूले खेलेको भूमिका पनि सबैलाई थाहा भएकै कुरा हो ।

||साहित्यकार तथा संस्कृतिविद् सत्यमाेहन जाेशी। तस्बिर : मकालुखबर/सराेज बस्नेत||

पार्टीहरूले आन्दोलन गरिरहेका थिए । त्यो बेला हामीले खानपिनको लागि मात्रै आन्दोलन गरेको त होइन । हामीले त मौलिक हक पो खोजेको हो । आफ्नो हक अधिकार खोजेको हो । हामीले देशको निम्ति आन्दोलन गरेका थियौँ । त्यसबेला सबैलाई जागरुक बनाउनको निम्ति मिडियाको आवश्यकता पर्‍याे । आधिकारको लागि सबैलाई जागरुक बनाउन मिडियाको आवश्यकता महसुस भयो । त्यसै क्रममा गोविन्द वियोगीलगायत प्रचारप्रसारको काममा लागेका थिए । त्यतिबेला नै समाचार समितिको बारेमा छलफल हुन थाल्यो । त्यससँगै मिडियाका मान्छेहरू जम्मा हुन थाले । हुँदाहुँदा समाचार बैँकको महत्त्व बढ्दै गयो । पछि नेपालमा चुनाव भयो । नेपाली कांग्रेस सत्तामा आयो । त्यसैबेला निजी क्षेत्रबाट समाचार समितिको स्थापना भयो । अनि काम गर्नको लागि त्यतिबेला जान्नेबुझने हामीहरूलाई पनि बोलाएर काम गराएको हो ।

अबका दिनमा राससको भूमिका कस्तो हुनुपर्छ होला ?
हन त मिडियामा नयाँनयाँ कुराको उन्नति भएको होला तर आज जे–जति मिडियामा उन्नति भयो ती उतिबेलाका साथीहरूले दुःख गरेर, त्याग गरेको परिणाम हो । त्यसैले अहिलेको राससको यो चौतर्फी उन्नति पनि त्यतिबेलाको परिश्रमको प्रतिफल हो । नेपाल अगाडि बढिरहेको छ । त्यसको निमित्त राससले भूमिका खेल्दै जाओस् ।  राससले भनेपछि पक्का हुने बाटोमा राससले आफूलाई अगाडि बढाउनुपर्छ । राससको भवन पनि आफ्नै भयो । हरेक कुरामा राससले आफूलाई विकास गर्दै लगेको छ । अब एक दिन भावी नेपालको निमित्त, भावी पुस्ताको निमित्त बाटो मात्रै देखाउने होइन कि, देशकै विकासको निमित्त राससको ठूलो भूमिका हुन्छ ।

राससले ६१ वर्षसम्म जसरी सत्यतथ्य समाचार दिँदै आएको छ, सेवा विविधीकरणअन्तर्गत अहिले भिडियो सेवा शुरू गरेको छ, यसबारेमा तपाईंको धारणा के छ ?
समाज परिर्वतनमा मिडियाको भूमिका ज्यादै ठूलो हुन्छ । कुनै बेला रेडियो, टेलिभिजन भन्ने नै थाहा थिएन । तर अहिले यतिधेरै रेडियो र टेलिभिजनहरू छन् । मिडिया मेचीदेखि महाकालीसम्म फैलिरहेको छ । विविधतामा एकता भएको राष्ट्रियताका लागि मुलुकमा मिडियाको भूमिका महत्त्वपूर्ण हुन्छ । मिडियाले जुन काम गरिरहेको छ, त्यसको कमीकमजोरी होला, अलि पछि परेको होला त्यो आफ्नो ठाउँमा छ तर हरेश खानु हुँदैन । सरकारले पनि सकेको बेलामा केहीँकतै मित्रराष्ट्रबाट ल्याएर भएपनि, आफ्नै स्रोतबाट भएपनि राससलाई अझै बलियो बनाउनुपर्छ । राससले देशको संस्कृति, समावेशीकरण सह-अस्थित्व, सहयोगको निमित्त र मेचीदेखि महाकालीलाई जोड्नको निमित्त भूमिका खेल्नुपर्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *