शताब्दी पुरुषको ‘अन्तिम इच्छा’ तस्वीरमा

काठमाडौँ । संस्कृतिविद् सत्यमोहन जोशीको पाटन बखुमबहालस्थित आफ्नो घरमा उनको ‘अन्तिम इच्छा’स्वरूप ‘चक्रसंवर’ तयार हुँदैछ । सन् १९८४ मा स्थापित लोक साहित्य परिषद्लाई जोशीले गतवर्ष आफ्नै घरजग्गा दान दिएका थिए । सोही परिषद् भवनको दोस्रो तल्लाको भित्तामा तयार हुँदैछ, चक्रसंवर । करिब पाँच महिनादेखि बनाउन सुरु गरिएकाे यो पौबा चित्र प्रसिद्ध लोक चित्रकारको नेतृत्वमा तयार हुँदैछ ।

यो चित्र बनाउनुभन्दा केही महिनाअघि जोशीले मौलिक पौबा बनाउनेहरूसँग भेटी आफ्नो ‘अन्तिम इच्छा’स्वरूप परिषद्मा पौबा चित्र बनाउने प्रस्ताव गरेका थिए । ‘उहाँले आफ्नो अन्तिम इच्छा नै भनेर भनेपछि जसरी पनि बनाउनै पर्छ भन्ने जिम्मेवारी आइलाग्यो,’ चित्रकारले मकालुखबरसँग भने, ‘लोक साहित्य परिषद्मा नेपाली मौलिक कला पनि संकलन होस् भनेर उहाँले यो भित्ते चित्र बनाउन भन्नुभएको थियो ।’

जोशीले चित्रकारलाई बनाउन भनेको चक्रसंवर बौद्ध धर्म मान्नेहरूले तन्त्र विद्या अभ्यास गर्दा चाहिने चित्र हो । यसमा वज्रवाराही र सम्भरको संयोजन भएपछि एउटा चक्र पूरा हुन्छ, जसलाई चक्रसंवर भनिने चित्रकार रविन महर्जन बताउँछन् । चक्रसंवरको बिचमा पाँचवटा बुद्ध रहने उनले बताए । उनले भने, ‘शताब्दीसम्म टिकोस् भनेर काठको फल्याकमा कटन कपडा राखेर बनाइएको यो पौबा २० फिट लामो र ५ फिट चौडा छ ।’ सीधै भित्तामा चित्र बनाउँदा बिग्रन सक्ने डरले कपडामा बनाएर राख्न लागिएको उनले बताए ।

चित्रमा सबै प्राकृतिक रंगहरू प्रयोग गरिएका छन् । चक्रसंवरको काम सक्न अझै करिब दुई महिना लाग्ने चित्रकारहरूले बताए ।

यो चित्र बनाउन ४३ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ । चित्र बनाउन सत्यमोहन जोशीले ३ लाख ५० हजार खर्च गरेका छन् । बाँकी रकम भने चन्दा, प्रदेश तथा स्थानीय सरकारबाट प्राप्त भएको चित्रकार बताउँछन् ।

तस्वीर:

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *