फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिएनन् : जीवनराम श्रेष्ठ

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीवनराम श्रेष्ठले फोहोर भित्रको गिरोहले नै फोहोरमैलाको व्यवस्थापन हुन नदिएको आरोप लगाएका छन्।
आज काठमाडौंको बंघ इन्द्रचोक र ऐतिहासिक बंघ दबूको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले फोहोरमैला सामान्य कुरा भएपनि फोहोरमैला भित्रकै गिरोहले यसलाई ठूलो कुरा बनाइरहेको बताए।
उनले स्थानीय तहले नै अब फोहोरमैलालाई श्रोतबाट नै व्यवस्थापन गर्नेतर्फ लाग्नुपर्ने बताए।मन्त्री श्रेष्ठले स्थानीय सरकारलाई फोहोरमैला व्यवस्थापन गर्ने कुरामा संघीय सरकार सहयोगका लागि तयार रहेको उनको भनाइ छ।
मन्त्री श्रेष्ठले भने, ‘फोहोरमैलाको कुराहरु अहिले लामै कथा भइसकेको छ। सामान्य कुरा हो तर हामीले त्यसलाई अहिलेसम्म पनि समाधान गर्न सकेका छैनौँ। फोहोरमैला भित्रको गिरोहले फोहोरमैला समाधान गर्न दिँदैन। फोहोरमैला समाधान गर्नको लागि ठूलो कुरा होइन, ठूलो कुरा बनाइएको छ।’








