इतिहाससँगै बाँचेको नगर

काठमाडौँ । इतिहास र संस्कार-संस्कृति बचाउन हामी के गर्छाैँ ? मूलतः संस्कार र संस्कृतिको लागि जनजीवनमा संचालन गर्ने, एक पुस्ताले अर्काे पुस्तालाई सिकाउने, वा अभिलेखीकरण गर्ने तर के हामीले इतिहासलाई जनजीवनमा उतार्न सक्छौँ त ?

अझै भन्ने हो भने एक्काइसौं शताब्दीमा चौधौंदेखि पन्ध्रौं शताब्दीतिरको शहरी विकास योजनामा बाँच्न कति सजिलो होला ? हामीलाई विश्वास गर्न अप्ठ्यारो पर्ला, तर हाम्रो नजिकै हामीलाई नै छोएर बाँचिरहेको छ । चौधौं शताब्दी यसको योजनाहरू तत्कालीन समयको संस्कार नीति-नियम अनि सिद्धान्त प्रयोगमा ल्याइरहेका छन् ।

मनिसैला महावादनको पौराणिक कथाअनुसार साँखु उपत्यका एउटा ताल थियो । साँखु नगरको इतिहास ३३ सय वर्ष पुरानो ऐतिहासिक मणिशैल महावदानमा उल्लेख गरिएको छ । काठमाडौँ उपत्यकाको लागि मञ्जुश्रीले गरेजस्तै देवी बज्रयोगिनीले पानीको निकासका लागि पहाड चिरिन् । बज्रयोगिनीले त्यसपछि पूजारी जोगदेव र प्रथम राजा शंखदेवलाई शंखको आकारमा साँखु नगर बनाउन निर्देशन दिए ।

यी यस्ता नगरहरू बसाउँदा देवीहरूलाई दक्षिणतिर पारी ३२ लक्षण युक्त हुनुपर्ने विश्वास रहेको हुनाले सोहीअनुरूप नै यो नगर बनाइएको छ । ‘उक्त ३२ लक्षण भन्नाले ढोका, डबली, पाटी, पैवा, विहार, चाडबाड मनाउनका लागि टोल, अष्ठमात्रिकाहरू, पाटी आदि पर्ने गरेको’ इतिहासविद् तथा शिक्षाकर्मी प्रकाशमान साक्व बताउँछन् । यी सबैको संख्या आठ हुनुपर्ने र यसरी स्थापना भएको नगरहरूमासाख मात्रै नरहेको उनी थप्छन् । उनी भन्छन्- ‘यसरी देवीलाई दक्षिणतिर राखेर नगर बसाउने प्रचलन, ऐतिहासिक प्रचलन हो । यस ठाउँमा मात्रै नभएर अन्य ठाउँहरूमा पनि यसरी नै देवीलाई दक्षिणतिर पारि बसालिएको छ ।’

विशेष त साँखुमा चार ऐतिहासिक ढोकाहरू थिए । प्रत्यक ढोकाहरूको छुट्टै महत्त्व विश्वास र प्रयोग पनि रहेको छ । यिनै चार ढोकाको अन्य एकएक सहायक ढोका गरी आठ ढोका भएको र यसको पुष्टि मनिसैला महाबदानको पौराणिक कथामा समेत सो ढोकाहरूको उल्लेख भएको साक्व बताउँछन् ।

यी यस्ता ढोकाहरू प्रचलन र रेखदेखबाट यस्ता ढोकाहरू हराउँदै गए पनि पाँचवटा भने अझै बाँकी रहेको स्थानीयहरू बताउँछन् । यी ढोकाहरूमा पहिले पाटी रेस्टहाउस, ढुंगेधारा र पोखरीहरू थिए, तर अहिले केही मात्र छन् । अन्य तीन ढोकाहरूको भग्नावशेषहरू पाइए पनि ठ्याक्कै यही ढोका हो भनी यकिन भने गर्न सकिएकै छैन । ती ढोकाहरू प्रचलनमा नआएसँगै विस्तारै हराउँदै गएको स्थानीयहरू बताउँछन् ।

प्राचीनकालमा ढोकाहरूले सहरको सिमाना तोकेको थियो, तर हालको प्रशासनिक नक्साले साँखुको क्षेत्रलाई ढोकाभन्दा बाहिर विस्तार गरिदियो । अवस्थित पाँच गेटहरू यस प्रकार छन्ः–

१. भौ ध्वाखाः (बधुद्वार-बुहारी भित्र्याउने ढोका)
यो साँखुको मुख्य प्रवेशद्वार हो । स्थानीय परम्परामा, यो गेट शहरमा नयाँ दुलही परिचय गर्दा प्रयोग गरिन्छ । साँखुको पश्चिम–दक्षिण दिशामा अवस्थित साँखुकै परानो बसपार्क क्षेत्रको यो ढोका, कलात्मक छ भने यस ढाकाको भित्र बाहिर बज्रयोगिनी, सिंहिणी, व्याघ्रिणी, हेरुक, अचलसहितको खम्बामा गणेश कुमारको पूर्ण कलशहरू मोतीमाला निल्दै गरेका सुँगाहरूको मूर्ति चित्रण गरिएको छ । ढोकाको बिच टुप्पोमा शङ्खरापुर नगर प्रतीकसहित एउटा शंखसहित दायाँबायाँ दुईओटा सिंहहरूको प्रतीक मूर्तिहरूभित्र बाहिरबाट हेर्न मिल्ने गरी सम्पूर्ण अष्टमंगल चिह्नहरूसहित चन्द्रसूर्यसमेत बनाइएको छ ।

यस ढोकाको बाहिर दुईवटा पूर्ण कलसको प्रतीक रुपमा पोखरीहरु पनि निर्माण गरिएका छन् । नयाँ दुलही साँखुमा भित्र्याइने ढोका भएकोले यसको स्थानीय नाम भौ ध्वाखाः भन्ने समेत गरिन्छ ।

२. जयबली ढोका (म्ह्याय्मचाः ध्वाखाः)
दक्षिणपूर्वी दिशामा पर्ने यो कलात्मक ढोका छोरीको विवाह गरी बिदाइ गर्नको लागी प्रयोग गर्ने गरेको स्थानियहरु बताउँछन् । आजका दिनसम्म पनि यो संस्कार चलि नै रहेको स्थानीय लक्ष्मण श्रेष्ठ बताउँछन् । साँखुको चेलीहरुलाई बिहे गरेपछि आफ्नो घर पठाउँदा वा अन्माउँदा यसै ढोकाबाट बाहिर पठाउनु पर्ने परम्परागत प्रचलन चल्दै आइरहेको छ । यस ढोकामा पनि भित्र र बाहिर सुन्दर कलाकृतिसहित (ड्रायगन) उड्ने नागको प्रतिमा सहितकलशको भैरवसँगै जया, विजया, देवीको मूर्ति साथै अष्टमंगल चिन्ह्हरु बनाइएको छ । यस ढोकालाई स्थानीय भाषामा भौ म्ह्याय्मचाः ध्वाखाः भन्ने गरकोे पाईन्छ । यस ढोकामा नै सम्धी-सम्धी बिच विवाहको सम्पूर्ण कुराकानी हुने गरेको छ ।

३. देवी ढोका (द्यः ध्वाखाः)
यो ढोका बज्रयोगिनी पर्वको लागि महत्त्वपूर्ण छ । बज्रयोगिनी जात्राको रथ लगायत अन्य सबै प्रकारका जात्राहरू यस ढोकाबाट प्रवेश गराउने गरिन्छ । यो साँखु नगरको उत्तर पश्चिममा पर्ने ढोका हो । भर्खरै पुनःनिर्माण गरिएको योे ढोकाबाट बज्रयोगिनी जात्रामा देवी, स्वयम्भू चैत्य, सिंहिणी व्याघ्रिणी देवीहरुको खट भित्र्याईने गरिन्छ र आठ दिनपछि खट यात्रा गरी बज्रयोगिनीको मन्दिरमा नै फिर्ता लगिन्छ ।

प्रत्येक वर्षको चैत्र शुक्ल पूर्णिमादेखि आठ दिनसम्म मेला लाग्ने गर्दछ । यो ढोकालाई स्थानीय भाषामा ‘द्यः ध्वाखाः’ भनिन्छ ।
त्यस्तै ‘भाद्रकृष्ण त्रयोदशी र चतुर्दशीमा बज्रयोगिनीको अर्काे पुरानो देवि जात्राको रूपमा वसुन्धरादेवी र घम प्यासी चैत्यको जात्रा गरी बज्रयोगिनी क्षेत्रबाट ल्याउने र लैजाने गर्दा सोही ढोका मात्र प्रयोग गरिने कारण देवीे ढोका भनी नामाकरण गरिएको हो’ भन्ने साक्व आफ्नो किताब ‘मणिचुडदेखि रत्नचुडसम्म’मा लेखछन् ।

जात्रा गर्नुपर्ने बज्रयोगिनी देवीको मूर्ति नवनिर्माण तथा जिर्णोद्वार गर्दा साँखुको जिवित देवी कुमारीको खट यात्रा गरी बज्रयोगिनी लैजाँदा र फर्काउँदा पनि यही ढोका प्रयोग गरिने गरेको पाईएको छ ।

४. महादेव ढोका (द्योः ध्वाखाः) वा सि ध्वाखाः
ढुंगाका पुराना मूर्तिहरू रहेको यस ढोकाको बिच भागमा मानव आकृति भएको गरुड नारायणको मूर्ति थियो भने हाल पुरानो भत्काएर बनाइएको यस ढोकामा गरुडको टाउकोे मात्र देखिन्छ । स्थानीय भाषामा (द्योः ध्वाखाः) वा सि ध्वाखाः प्रचलनमा रहेको छ ।
यस ढोकाबाट साँखुका आदिवासी नगरभित्र नै मृत्यु भएको लास चिहान तिर लैजाने ढोका हो ।
हिमयगता स्थापना गरिएका ६८ लिङ्गेश्वरमध्ये शिवलिङ्ग रहेको स्थानको ढोका भएको यस क्षेत्रमा रहेको पोखरी र झरना, पुल, कुलोको नाम पनि झ्वाल्ला महादेवको पोखरी आदि प्रचलित नामहरुबाट स्थानीयहरुले सम्बोधन गरेको पाईन्छ । यस ढोकाबाट मृतकको लास लैजाँदा आ–आफ्नो चिहानमा सन्त, माहन्त, गिरी, पुरी, कपाली डोबेहरु गाड्ने गर्दछन् भने अन्य जनजातिहरुले पुर्ने कार्य गर्दछन् ।
शिवरात्रीमा लप्सेफेदीमा पशुपंन्छी, माछाहरुको पूजा ढोकाबाट लैजान्छन् ।

५. नारी ध्वाखाः
शालिनदी पर्वको समयमा पवित्र देवता माधव नारायणलाई भक्तजनसहित छुट्टै धलक्व स्थानको कलात्मक ढोकाबाट नगरभित्र ल्याउने र बाहिर लैजाने गरिन्छ । ‘नारी’ शालिनदीको स्थानीय नाम हो ।

यस नगरमा आठ वटा ढोकाहरू थिए । केही ढोकाहरू जीर्ण र लोप भए, तर चार ढोकाहरु पुनर्निर्माण भएका थिए र छन् ।

  • प्रकाशमान शाक्वसँग गरिएको कुराकानीमा आधारित
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published.