युक्रेनी पक्षको बमबारीमा ४० युद्धबन्दी मारिए : रुस

काठमाडौँ । युक्रेनी पक्षको बमबारीमा ४० जना युद्धबन्दी मारिएको रुसले बताएको छ । रुसका रक्षामन्त्रीले पृथकतावादीको नियन्त्रणमा रहेको डोनेट्स्क क्षेत्रमा युक्रेनीहरूले बमबारी गर्दा ४० युक्रेनी युद्धबन्दी मारिएको बताएका हुन् ।

ओलेनिभ्कास्थित बन्दी शिविरमा भएको रकेट हमलामा अन्य ७५ जना घाइते भएको बताइएको छ । तर युक्रेनको सेनाले आफूले त्यस्तो हमला नगरेको बरु रुसले कारागारमा बमबारी गरेको आरोप लगाएको छ । उक्त क्षेत्रमा दिइएको यातनाको प्रमाण ढाकछोप गर्न मस्कोले खोजिरहेको युक्रेनले जनाएको हो ।

युक्रेनका जेनेरल स्टाफले भने, ‘उक्त क्षेत्र ओगटेर बसेका रुसीहरूले आपराधिक लक्ष्य राखेका थिए त्यसैले युद्ध अपराध गरेको आरोप युक्रेनलाई लगाउन, बन्दीहरूलाई दिएको यातना र रुसको सशस्त्र फौजको निर्देशन अनुसार गोलाबारी गरेको घटना लुकाउन यस्तो गरिएको हो ।’

रुसी सरकारी टिभीमा प्रसारण गरिएको फुटेजमा केही मानिसका शव रहेको भवनबाट धुवाँ उडिरहेको देखिन्छ । उक्त फुटेजको स्वतन्त्र पुष्टि गर्न सकेको छैन तर विश्लेषणहरूका अनुसार उक्त भवन नियमित खालको तोपबाट नभई आगो लगाउने उपकरणले प्रहार गरिएको हो । -बीबीसी

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *