संसद्मा गजेन्द्रले भने- एम अधिकारी भेट्टाएँ, अब कारबाही हाेस् (भिडिओसहित)

काठमाडाैँ । सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्रबहादुर महतले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकरीमाथि कारबाहीकाे माग दाेहाेर्याएका छन् । शुक्रबार बसेकाे संसद् बैठकमा भाग लिँदै उनले भनेका छन्, ‘गभर्नरमाथि कारबाही गरियाेस् । मैले एम अधिकारी भेट्टाएँ, उहाँ नैँ हाे ।’
त्यसअघि उनले भने, ‘प्रतिपक्षले नखाेजे पनि, सरकारले नखाेजे पनि, संसद्ले नखाेजे पनि मैले नै व्यक्तिगतरूपमा खाेजेँ । किनकी म पनि एउटा सांसद हुँ भनेर खाेजेँ । खाेज्दै जाँदाखेरी मैले एम अधिकारी भेटेँ । एम भनेकाे मनी रहेछ । मनी भनेकाे पैसा, ढुकुटी रहेछ र अधिकारी भनेकाे अधिकार भएकाे भन्ने रहेछ । भन्दाखेरी पैसामा, ढुकुटीमा अधिकार भएकाे मान्छेचाहिँ एम अधिकारी हुने रहेछ । त्यसाे हुँदा त एम अधिकारी भनेकाे गभर्नर नै रहेछ । उहाँमाथि कारबाही हाेस् ।’
उनले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेकाे संसदीय समितिले केही प्रमाण नभेटेकाे उल्लेख गर्दै उनले भने, ‘मैले त पहिल्यै सीसीटीभी फूटेज नखाेजाैँ बरु एम अधिकारी खाेजाैँ भनेकाे हुँ । तर साथीहरू मान्नुभएन । मैले एम अधिकारी भनेकाे त उहाँहरूले एमराज भन्ने सुन्नुभएछ । हेर्नुस् त यत्तिकै समय खेर गयाे केही भेटिएन ।’








