पशुपति क्षेत्रमा ‘एक भक्त एक वृक्षारोपण’ कार्यक्रम शुरू

काठमाडौं । विश्व सम्पदा सुचीमा सूचीकृत धार्मिक एवं ऐतिहासिक सम्पदाको रूपमा रहेको पशुपति क्षेत्रलाई हरियाली प्रवर्द्धन गर्ने मुख्य उद्देश्यको सहित एक भक्त एक वृक्षारोपण कार्यक्रमको सुरुवात भएको छ ।
बिहीबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनराम श्रेष्ठले पशुपतिमा ‘एक भक्त, एक वृक्षारोपण’ अभियानको शुरू गरेका हुन् । उनले पशुपति क्षेत्रमा रुद्राक्षको बिरुवा रोपेर वृक्षारोपण अभियानको सुरुवात गरेका हुन् ।
विश्वका वैदिक सनातन हिन्दु धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई आकर्षक तथा रमणीय बनाउन वृक्षारोपण अभियानले सहयोग पुग्ने विश्वास व्यक्त गरे छ ।
कार्यक्रममा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. मिलन कुमार थापाले धार्मिक पर्यटकलाई आकर्षित गर्ने गरी पशुपति क्षेत्रलाई ध्यान, ज्ञान र योग साधना स्थलका रूपमा विकास गर्न हरियाली प्रद्र्धनको कार्यक्रम अघि बढाएको बताए । उनले भने,‘पशुपति क्षेत्रभित्र खाली रहेको क्षेत्रलाई वृक्षारोपण गरेर हरियाली बनाउने हाम्रो योजना छ, यसमा सबैको साथ र सहयोगको खाँचो रहेको छ ।’
रोपेका बिरुवाहरूको उचित हेरचाह, संरक्षण र व्यवस्थापनमा काममा कोषले ध्यान दिने बताउँदै पशुपति क्षेत्रमा रुद्राक्ष, श्रीखण्ड, वर पिपल, पारिजात, बेल तथा अन्य धार्मिक वृक्षको उद्यान बनाउने योजना रहेको बताए ।
कार्यक्रममा खाँदवारी नगरपालिकाका प्रमुख महेश थपलियाले १ लाख रुद्राक्षको बिरुवा उपलब्ध गराउने घोषणा गरेका छन् । कार्यक्रममा सरकारका मुख्यसचिव शंकरदास वैरागी, काठमाडौं महानगरपालिका नगर प्रमुख बालेन्द्र साह तथा कोषका पदाधिकारीहरूले वृक्षारोपण गरेका थिए ।
कोषले वृक्षारोपण कार्यक्रमलाई अभियानको रूपमा अघि बढाउने नीति लिएको छ । बिरुवाको गोडमेल, मलजल र संरक्षणको जिम्मा कोषले लिनेछ । कोषले चालु आर्थिक वर्षको नीति तथा कार्यक्रममा वृक्षारोपण अभियानलाई समावेश गरेको छ । कोषले विश्व रुपा, मृगस्थलि, श्लेष्मान्तक, भण्डारखाल लगायतको क्षेत्रमा वृक्षारोपणको कामलाई अघि बढाउने भएको छ ।








