राप्रपाप्रति युवाहरूकाे आकर्षण बढेकाे राप्रपानिकट युवा संगठनकाे निष्कर्ष

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट युवा संगठनले युवाहरू देशव्यापी रूपमा राष्ट्रवादी विचारमा आकर्षित भएको निष्कर्ष निकालेको छ ।
‘वैकल्पिक शक्तिको रूपमा राप्रपाको अहिले देशव्यापी चर्चा छ, आकर्षण छ । अबको देश बनाउने शक्ति राप्रपा नै हो भन्ने युवाहरूमा विश्वास बढेको छ । जनताको यही चाहनालाई मध्यनजर गर्दै युवाहरू पार्टीको मेरुदण्डको रूपमा खडा उनेछौँ, चुनावमा दिलोज्यान दिएर लागी पर्ने छौँ,’ राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन (राप्रयुसं) का अध्यक्ष राजु लोहनीले बुधवार संगठनको विस्तारित बैठकलाई सम्बोधन गर्दै भने ।
राप्रयुसंका अध्यक्ष लोहनीले आगामी चुनावमार्फत राप्रपालाई अग्रणी शक्ति बनाउन ७७ जिल्लामै युवाहरू अहोरात्र खट्ने बताए ।
विधि र विधानलाई सर्वोपरि राख्दै मातृसंस्था राप्रपालाई प्रजातान्त्रिक तवरले अघि बढ्न सहयोग गर्ने, खबरदारी गर्ने बताए ।
राप्रयुसंका उपाध्यक्ष गुणराज राजभण्डारीले बताए अनुसार, संगठनले भदौ मसान्तभित्र महाधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ ।
निर्धारित कार्य तालिकाबमोजिम युवा संगठनले भदौ २९, ३० र ३१ गते राष्ट्रिय महाधिवेशन सम्पन्न गर्नेछ ।
त्यसैगरी युवा संगठनले साउन १५ गतेदेखि २५ गतेसम्म वडा, गाउँपालिका, नगरपालिका तह र साउन २६ गतेदेखि भदौ २ गतेसम्म प्रदेशसभा समितिको अधिवेशन सम्पन्न गर्ने निर्णय गरेको छ । भदौ ३ गतेदेखि १० गतेसम्म क्षेत्रीय समितिको निर्वाचन, भदौ ११ गतेदेखि १६ गतेसम्म जिल्ला कार्य समितिको निर्वाचन, भदौ १७ गतेदेखि २२ गतेसम्म प्रदेश समिति गठन गर्ने, भदौ २३ र २४ गते केन्द्रीय प्रतिनिधिहरूको निर्वाचन गर्ने तय गरेको छ ।
राप्रपा केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित विस्तारित बैठकले महाधिवेशनको कार्यक्रमहरू अनुमोदन गरेको छ ।
संगठनले २२५ सदस्यसहित केन्द्रीय समितिले विस्तार गरेको छ ।








