गुँला पर्वका अवसरमा सवाःलाख चैत्य बनाइने

काठमाडौँ । भक्तपुरमा गुँला पर्वका अवसरमा सवाःलाख चैत्य बनाउने धार्मिक कार्य आयोजना हुने भएको छ ।

विभिन्न कारणले रोकिएको उक्त धार्मिक कार्य पाँच वर्ष पछि भक्तपुरका साकोलान टोलका मानन्धर समुदायले आयोजना गर्न लागेका हुन् । गुँला ङक धलं व्यवस्थापन समितिले बुधवार भक्तपुरमा पत्रकार सम्मेलन गर्दै छुट्टै पहिचान बोकेको सवाःलाख चैत्य बनाउने धार्मिक कार्य (गुँला ङक धलं) लाई यस वर्ष भक्तपुरका मानन्धर समुदायले आयोजना गर्ने जानकारी दिएको हो ।

सुरुका समयमा प्रत्येक वर्ष आयोजना गरेको भए पनि पछिल्लो समय मानव संसाधन, बजेट तथा अन्य समस्याले गर्दा निरन्तरता पाउन सकेको छैन । तर पाँच वर्ष पछि पुन उक्त धार्मिक कार्यक्रमको आयोजना गरिने समितिका सचिव रामकृष्ण मानन्धरले जानकारी दिए ।

परापूर्व कालदेखि मानन्धर समुदायले गुँलाथ्व पारु देखी ञलाथ्व पारु एक महिनासम्म गुँला पर्वमा मनाउने गुँला ङक धलं यसपालि श्रावण १३ गतेदेखि भाद्र १२ गतेसम्म भक्तपुर– ९ साकोलान टोलको धार्मिक कार्य आयोजना गरिने सचिव मानन्धरले जानकारी दिए ।

गुँलाको पहिलो मंगलबार सूर्य विनायक देवस्थलमा गुँला नौ बाजा बजाउन जाने गरिन्छ । शनिवार अष्टमात्रिका देवस्थलहरूमा बाजा जाने गरिन्छ । सापारुको दिनमा व्रत पूजा सकाएर व्रतालुहरू र नौ बाजा सहित नामसंगिति स्तोत्र धर्मग्रन्थ खतमा राखी चार जनाले बोकी नौ बाजा बजाई नगर परिक्रमा गर्ने गर्दछन् ।

भाद्र शुक्ल प्रतिपदाको दिनमा पूजा विधि सकाएर एक महिनाभरि स्तोत्र पाठ गरी बनाएको सवालाख चैत्य नौ बाजा बजाई हनुमान घाटमा विसर्जन गरी गुँला धलं समापन गरिने प्रचलन रहेको समितिले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *