अर्थमन्त्री शर्मा प्रकरण : संसदीय समितिले फरेन्सिक विज्ञसँग परामर्श गर्ने

अपराह्न ४ बजे अर्काे बैठक बस्दै

काठमाडौं । बजेट निर्माणमा अनधिकृत व्यक्ति संलग्न भएको भनिएको विषयमा छानबिन गर्दै आएको संसदीय विशेष समितिले प्रहरीबाट प्राप्त सीसीटीभी फुटेजसहितको विवरणबारे फरेन्सिक विज्ञहरुसँग परामर्श गर्ने भएको छ ।

संसदीय विशेष छानविन समितिले फरेन्सिक ल्याबबाट प्राप्त भएको सीसीटीभीको हार्डडिक्सको रिपोर्ट खोलेको छ। समितिको मंगलबार बिहान ८ बजेपछि बसेको बैठकमा फरेन्सिक ल्याबबाट लाहाछापसहित प्राप्त शिलबन्दी गरेको हार्डडिस्कको रिपोर्ट खोलेको हो।

पूर्व अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिको प्रवेशबाट बजेट बनाएको आरोपमा गठित संसदीय विशेष छानविन समितिलाई अर्थ मन्त्रालयले दिएको हार्डडिक्समा जेठ १४ गतेको भिडियो नभेटिएपछि प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको थियो।

संसदीय विशेष छानबिन समितिले साउन ४ गते पठाएको उक्त हार्डडिक्स सोमबार नेपाल प्रहरीको अपराध अनुसन्धान विभागको केन्द्रीय प्रहरी डिजिटल फरेन्सिक विज्ञान प्रयोगशालाबाट प्राप्त भएको हो। उक्त रिपोर्टको समितिले अध्ययन सुरु गरेको हो।

आजको बैठकमा समिति सदस्यहरुले प्रहरीबाट प्राप्त अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हरेका थिए । त्यसपछि बैठक आजै अपराह्न चार बजे बस्ने गरी स्थगित गरिएको छ ।

बैठकपछि समितिका सचिव सुरेन्द्र अर्यालले फरेन्सिक ल्याबसँग सम्बन्धित विज्ञहरुसँग परामर्श गर्ने जानकारी दिए । फरेन्सिक रिपोर्टमा गत जेठ १४ गतेकै भिडियो छ कि छैन भन्ने विषयमा भने अहिले आफूले भन्न नमिल्ने अर्यालले बताए ।

बजेटमा करको दर हेरफेर गरिएको भन्ने विषय सार्वजनिक भएपछि सभामुख अग्नि सापकोटाले गत असार २२ गते ११ सदस्यीय संसदीय छानबिन विशेष समिति गठन गरेका थिए । सोही दिन तत्कालीन अर्थमन्त्री पदबाट जनार्दन शर्माले राजीनामा दिएका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

14 − 9 =