सबै सिट आफै लिएर उब्रेको दिउँला भन्ने सोचे टुलुटुलु हेरेर बस्दैनौं : अध्यक्ष नेपाल

पोखरा । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधव कुमार नेपालले आगामी निर्वाचनमा गठबन्धन गरे पनि आफ्नो पार्टीलाई पेल्न खोजे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिएका छन् ।
उनले राम्रो ठाउँमा आफै लिएर उब्रेको ठाउँमा मात्रै दिने सोच कुनै पार्टीले गरे टुलुटुलु हेरेर नबस्ने चेतावनी दिए । ‘सबै सिट आफै लिउँला उब्रेको मात्रै दिउँला भनेर कुनै पार्टीले सोच्छ भने हामी टुलुटुलु हेरेर बस्ने वाला छैनौं,’ भन्छन्, ‘आफ्नो शक्तिमा अडिएर अगाडी बढ्छौं । शक्ति बनाउने कुरामा आवश्यक समयमा भ्रम चिर्नुपर्छ ।’
उनले तालमेल गर्दा पार्टीको नेतृत्वदायी भूमिका र समग्रमा पार्टी भावना अनुसार हुने बताए । स्थानीय तहको निर्वाचनकै आधारमा आगामी गठबन्धन हुने उनको भनाई छ ।
कम्युनिष्ट पार्टीका नेता स्व. पुष्पलाल श्रेष्ठको स्मृतिमा आयोजित सभालाई सम्बोधन गर्दै नेपालले गठबन्धन निर्वाचनसम्म कायम रहने बताए । ‘गठबन्धनका विषयमा कसैले अन्य ढंगले कुरा गरिरहेका छन् । तर गठबन्धन टुट्ने वाला छैन । आउने चुनावसम्म गठबन्धन कायम रहन्छ । यसको निम्ति आफ्नो तर्फबाट बहस गर्नुपर्छ,’ उनले भने । एमाले अध्यक्ष केपी शर्मा ओलीले कम्युनिष्ट पार्टी विभाजन गरेको भन्दै उनले पुष्पलालले जस्तै आफूले पनि विद्रोह गरेको दाबी गरे ।








