भीमसेन थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ : प्रधानमन्त्री देउवा

प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय विभूति भीमसेन थापाले जीवनमा गरेको कर्मका आधारमा नेपालको इतिहासमा राष्ट्रवादी व्यक्तित्वका रुपमा परिचित भएको बताएका छन् ।
राष्ट्रिय विभूति भीमसेन थापाको २४८औँ जन्मजयन्तीका अवसरमा राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको भीमसेन थापा स्मृति पुरस्कार वितरण समारोहमा उनले स्वाभिमानी थापाले गरेको योगदानको स्मरण गरे ।
उनले भने, ‘थापाले महत्वपूर्ण आर्थिक सुधारको काम गर्नुभएको छ, उहाँले मानापाथी व्यवस्थित गरेर नापतौलको मापन गर्नुभयो, चिट्ठीपत्र ओसारपसारका लागि पनि भीमसेन थापाले काम गर्नुभएको छ ।’
महत्वपूर्ण कागजात एवं चीजबीजको अभिलेख राख्ने काम पनि भीमसेन थापाकै पालामा सुरु भएको गर्दै उनले स्वतन्त्र देश नेपालको रक्षाका लागि गरेको योगदानको चर्चा गरे ।
प्रतिष्ठानका अध्यक्ष प्रा डा पार्थिवेश्वरप्रसाद तिमल्सिनाले थापाको नासोका रुपमा रहेको लगनटोलस्थित सिलखाना पुरानै स्वरुपमा पुनःनिर्मााणको व्यवस्था मिलाइदिन प्रधानमन्त्री देउवासँग माग गरे ।








