कर्णालीमा बढ्दै दुर्घटनाको ग्राफ, तीन आर्थिक वर्षमा तीन सय ९२ जनाले ज्यान गुमाए

सुर्खेत । कर्णालीमा तीन आर्थिक वर्षमा सडक दुर्घटनामा परी तीन सय ९२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतले सार्वजनिक गरेको आर्थिक वर्ष २०७८/०७९ को सडक सुरक्षा र ट्राफिक व्यवस्थापन सम्बन्धी वार्षिक प्रतिवेदनले कर्णालीमा बर्सेनि सडक दुर्घटना बढ्दै गएको देखाएको हो ।

आर्थिक वर्ष २०७६/०७७ देखि आर्थिक वर्ष २०७८/०७९ मा प्रदेश भर चार सय दुई सडक दुर्घटना भएका छन् । तीन वर्षे आँकडा हेर्ने हो भने सबैभन्दा धेरै गत आर्थिक वर्ष २०७८/०७९ मा एकसय ९७ जनाले ज्यान गुमाएका छन्, भने तीनसय ६२ जना गम्भीर, पाँचसय ८८ जना सामान्य घाइते भएका छन् । यस आर्थिक वर्षमा चार सय ८१ सवारी साधनमा आंशिक तथा पूर्ण क्षति भएको छ ।

यस्तै आर्थिक वर्ष २०७६/०७७ मा ९७ जनाको मृत्यु भएकोमा आर्थिक वर्ष २०७७/०७८ मा ९८ जनाले सडक दुर्घटनामा ज्यान गुमाएका छन् ।

सुर्खेतमा धेरै हुम्लामा कम
जिल्लागत सवारी दुर्घटनाको तथ्याङ्क हेर्ने हो भने सबैभन्दा धेरै सुर्खेतमा र सबै भन्दा कम हुम्लामा भएको देखिन्छ । तीन आर्थिक वर्षमा सुर्खेतमा एक सय ८७ र हुम्लामा ३ वटा सवारी दुर्घटना भएका छन् । सुर्खेतमा बढी सवारी साधन चल्ने र हुम्लामा कम सवारी साधन चल्ने भएकोले अन्य जिल्लाको तुलनामा सुर्खेतमा बढी सवारी दुर्घटना भएको उल्लेख छ । सङ्ख्यात्मक हिसाबले सल्यान र दैलेख दोस्रो र तेस्रोमा रहेका छन् ।

२५ देखि ३० वर्ष उमेर समूह उच्च जोखिममा
उमेरका आधारमा मृत्यु हुनेको अवस्था हेर्ने हो भने बितेका तीन आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०७६/०७७ र ०७७/०७८ मा सबैभन्दा बढी मृत्यु हुनेमा २५ देखि ३० वर्ष उमेर समूहका मानिसहरू रहेका छन् ।

यस्तै, कम मृत्यु हुनेमा ५५ वर्षदेखि माथिको उमेर समूह परेको छ । अघिल्ला दुई आर्थिक वर्षमा समान देखिए पनि यस आर्थिक वर्षमा२५ देखि ३० वर्ष समूह अन्य उमेर समूहभन्दा औसतमा बढी रहेको छ । कम मृत्यु हुनेमा भने तीन वटै आर्थिक वर्षमा ५५ वर्ष माथिको उमेर समूह देखिन्छ । यस्तै बालबालिकाहरू पनि दुर्घटनाको सिकार बन्ने गरेका छन् ।

शनिबार दुर्घटना बढी
बढी सवारी दुर्घटना हुने बारहरूमा शनिबार परेको छ । शनिबार एक सय सात र सबै भन्दा कम बिहीबार ३२ सवारी दुर्घटना भएको तथ्याङ्कमा उल्लेख छ । अरू दिनभन्दा शनिबार बिदा भएकाले धेरै सवारी साधन चल्ने र मादक पदार्थ सेवन गरी सवारी चलाउनाले पनि दुर्घटना बढी रहेको जनाइएको छ ।

सवारी दुर्घटनाको कारण
तीन वर्षमा घटेका सडक दुर्घटनामा सबै भन्दा बढी तीव्र गतिको कारणले भएको देखिन्छ भने, अन्य कारणमा क्रमशः यान्त्रिक, ट्राफिक नियम उल्लङ्घन, सडकको अवस्था र लापरबाहीको कारणले भएको देखिन्छ ।

सडकको अवस्था सवारी चाप, भौगोलिक अवस्था, कार्य योजनाको प्रभावकारी कार्यान्वयनमा अभाव र आम जनमानसमा नियम पालना नगर्ने प्रवृत्ति (सडक सुरक्षा सचेतनाको अभाव) ले कर्णालीमा दिनानुदिन सवारी दुर्घटनाबाट मृत्यु हुने र घाइते हुनेको सङ्ख्या बढ्दै गएको पाइएको छ ।

प्रदेशको सवारी दुर्घटनाको तथ्याङ्कलाई हेर्दा कर्णाली प्रदेशमा भएका सवारी दुर्घटनाको कारण मानिसको ज्यान जाने, अङ्गभङ्ग हुने तथा दीर्घकालीन अपाङ्गता हुने दर बढ्दै गएको छ । यसबाट राज्यलाई बर्सेनि सवारी दुर्घटनाको कारण उपचार, अनुसन्धान, बिमा, क्षतिपूर्ति लगायतका विभिन्न आर्थिक पक्षमा र अनुत्पादक दायित्वमा वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।

समाधानका उपाय
कर्णाली प्रदेशलाई सडक सुरक्षाको दृष्टिकोणले सुरक्षित क्षेत्र बनाउन प्रदेश, जिल्ला र पालिका स्तरीय सडक सुरक्षा सम्मेलन गरी सरोकारवाला निकायहरूलाई जिम्मेवार बनाई कार्ययोजना तयार पारी प्रभावकारी कार्यान्वयनमा ल्याउन सके मात्रै कर्णाली प्रदेशमा हुने सडक दुर्घटनाबाट भएको क्षतिमा कमी ल्याउन सकिने प्रतिवेदनमा उल्लेख छ ।

ट्राफिक व्यवस्थापनलाई अझ प्रभावकारी बनाउन ट्राफिक प्रहरीलाई भौतिक श्रोत साधन सम्पन्न गराउनु पर्नेमा समेत जोड दिइएको छ । साथै ट्राफिक सचेतनात्मक कार्यक्रमहरूलाई नियमित प्रभावकारी बनाउन नीतिगत रुपमै बजेट व्यवस्था मिलाइनु आवश्यकता रहेको प्रतिवेदनमा उल्लेख छ ।

झन्डै साढे सात करोड राजश्व संकलन
कार्यालयले तीन वर्षको अवधिमा झन्डै सात करोड ५० लाख १६ हजार तीन सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ । कार्यालयले ट्राफिक नियम उलङ्घन लगायतका जरिवाना बापतको राजश्व रकम सङ्कलन गरेको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *