अनुशासित, मर्यादित र उत्तरदायी सेवा प्रवाह गर्न मन्त्री चौधरीको निर्देशन

कास्की । सङ्घीय सरकारका खानेपानी मन्त्री उमाकान्त चौधरीले खानेपानी संस्थानका कर्मचारीहरुले जनतालाई सरल र सहज सेवा प्रदान गर्नुपर्ने बताए ।

नेपाल खानेपानी संस्थान पोखरा शाखाको आज अनुगमनपछि कर्मचारीहरुसँगको छलफल कार्यक्रममा उनले अनुशासित, मर्यादित र जनताप्रति उत्तरदायी भएर सेवा प्रवाह गर्न कर्मचारीलाई निर्देशन दिए ।

मन्त्री चौधरीले पर्यटकीय सहर पोखरामा आपूर्ति हुने पानी शुद्ध हुनुपर्ने बताए । उनले भने, “जापान अन्तर्राष्ट्रिय सहयोग निकोग (जाइका)ले निर्माण गरिरहेको पोखरा खानेपानी सुधार आयोजनाको काम अहिले ८५ प्रतिशत सकिएको छ । यस आयोजना सम्पन्न भएपछि पर्यटकीय सहर पोखराको पानी शुद्ध, स्वच्छ र सफा हुनुपर्दछ ।”

मन्त्री चौधरीले उपभोक्ता समितिहरुले महङ्गो शुल्क लिएर धारा जडानका लागि सिफारिस गर्ने गरेको पाइएको भन्दै त्यसको अन्त्य हुनुपर्नेमा जोड दिए । खानेपानी नैसर्गिक अधिकार भएकाले सरकारले सबै घरधुरीलाई ‘एक घर एक धारा’को अवधारणाअनुसार काम अघि बढाएको बताए ।

छिट्टै खानेपानी तथा सरसफाइ ऐन पारित हुने तयारीमा रहेको जानकारी दिँदै उहाँले संस्थानको कर्मचारी सेवा सर्त विनियमावली छिट्टै उपलब्ध गराउन मन्त्रालय लागिपरेको उल्लेख गरे। संस्थानका महाप्रबन्धक ईश्वर प्रसादले सबै कर्मचारी मिलेर संस्थान बचाउन सक्नुपर्ने बताउँदै पोखरा शाखा संस्थानकै नमूना शाखा बन्ने गरी काम गर्नुपर्नेमा जोड दिए ।

संस्थान पोखरा शाखाका प्रमुख आशिष कार्कीले संस्थानको आर्थिक, पानी वितरण प्रणाली, नयाँ योजना, मुहान र उपभोक्तासहितको विवरणबारे जानकारी गराए । नेपाल खानेपानी संस्थान कर्मचारी सङ्घका केन्द्रीय अध्यक्ष केदार धमलाले संस्थानमा कार्यरत कर्मचारीमाथि विभेद अन्त्य हुनुपर्ने धारणा राख्दै दैनिक ज्यालादारीमा कार्यरत कर्मचारीलाई करार सेवामा लैजान व्यवस्थापन समग्र आग्रह गरे ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × 4 =