नारायणकाजीले देखेका ‘समाजवाद’का ५ पूर्वशर्तहरू !

काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का नेता नारायणकाजी श्रेष्ठले नेपालमा समाजवादकाे आधार निर्माणकाे थालनी हुन ढिलाइ भइसकेकाे बताएका छन् । ‘प्रगतिशील दिशातर्फ अगाडि बढ्ने हाे भने अब नेतृत्वले आफूलाई रूपान्तरण गरेर समाजवादकाे आधार निर्माणकाे काम थाल्नुपर्छ,’ आइतबार काठमाडाैँमा आयाेजित एक कार्यक्रममा उनले भनेका छन्, ‘अब राजनीति सफा गर्नुपर्छ ।’

समाजवादकाे आधार निर्माणमा ठूला र स्थापित दलका नेताहरू गम्भीर नभएकाे भनाइ नेता श्रेष्ठकाे छ । ‘अब पनि साँच्चै समाजवादकाे आधार निर्माण गर्न सकिएन भने हामी कहीँ पनि पुग्दैनाैँ,’ उनले चिन्ता प्रकट गर्दै भनेका छन्, ‘यसका लागि मूल नेतृत्वहरू गम्भीर रहनुपर्छ ।’

उनले समाजवादकाे आधार निर्माणका लागि ५ वटा शर्तहरू हुनुपर्ने बताएका छन् ।

१, राजनीति शुद्धीकरण अभियान सञ्चालन गर्ने 
नेता श्रेष्ठ भन्छन्, ‘राजनीति सफा नगरीकन केही पनि हुँदैन । सबैभन्दा पहिले राजनीति सफा गर्नुपर्छ ।’ नेपालकाे राजनीति असाध्यै फाेहाेर भएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘राजनीति सफा नगर्ने हाे भने केही पनि हुँदैन । त्याे भएर सबैभन्दा पहिले हामी राजनीतिक शुद्धीकरण अभियान सञ्चालन गर्नुपर्छ ।’

यसका लागि मुख्य नेतृत्वले आफूलाई रूपान्तरण गर्नुपर्ने उनकाे भनाइ छ । ‘मुख्य नेतृत्वले आफूलाई रूपान्तरण गर्नैपर्छ अब,’ उनले भनेका छन्, ‘अनि राजनीति शुद्धीकरण गर्नुपर्छ । र, मात्रै हामी हामीले भन्ने गरेकाे समाजवादतर्फ जान सक्छाैँ, समाजवादकाे आधार निर्माण गर्न सक्छाैँ ।’

२, देशभक्ति आन्दाेलन सञ्चालन गर्ने 
नेता श्रेष्ठकाे दाेस्राे शर्त छ— देशभक्ति आन्दाेलन सञ्चालन गर्ने । राजनीति शुद्धीकरणपछि देशभक्तिहरूकाे ध्रुवीकरण जरुरी रहेकाे उनले औंल्याए । ‘त्यसपछि देशभक्तहरूकाे ध्रुवीकरण हुनुपर्छ । यसले देशलाई नयाँ पथमा लान सहयाेग गर्छ । त्यसपछि मात्रै हामीले भनेकाे समाजवादकाे आधार तयार हुन्छ ।’

यदि यसाे नगर्ने हाे भने अझै पनि देश यही अवस्थाबाट गुज्रिरहने उनकाे विश्लेषण छ । ‘हामीले विदेशी हस्तक्षेप स्वीकार गर्नुहुन्न, हामी देशभक्त बन्नुपर्छ । स्वार्थका लागि विदेशी हस्तक्षेप स्वीकार गर्ने हाेइन,’ उनले भनेका छन्, ‘समावादकाे आधार तयार पार्ने भन्ने अनि विदेशी हस्तक्षेपहरू स्वीकार गर्ने हाे भने हाम्राे हविगत माथि जाँदैन । चुनाव लड्न र जित्न विदेशीकाे पैसा लिन छाेडाैँ ।’

३, अन्धभक्त/अन्धसमर्थक हुन छाडाैँ
नेता श्रेष्ठ नेतृत्वलाई सुधार्न सक्ने हैसियत अन्य नेता/कार्यकर्ताहरूले राख्नुपर्ने बताउँछन् । त्यसका लागि कुनै पनि नेताहरूकाे अन्धभक्त वा अन्धसमर्थक हुन छाेड्नुपर्ने उनकाे भनाइ छ । ‘हामी सबैजना वकिल हुन छाेडाैँ,’ उनले भने, ‘अन्धभक्त हुन छाडाैँ, अन्धसमर्थक पनि हुन छाडिदिउँ । त्यसकाे पनि सीमा हुन्छ । त्याे सीमाभित्र आफू रहाैँ ।’

उनले नेतृत्वले गलत गरे ‘तैँले गलत गरिस्’ भनेर भन्न सक्नुपर्ने उनले बताएका छन् । अन्धभक्त र अन्धसमर्थक हुँदा नेतृत्व बिग्रने र समाजवाद नारामा मात्रै सीमित हुने चिन्ता व्यक्त गर्दै नेता श्रेष्ठले भनेका छन्, ‘जबसम्म हामी कुनै पनि नेताहरूकाे अन्धभक्त र अन्धसमर्थक हुन्छाैँ, तबसम्म समाजवादकाे आधार निर्माण हुन सक्दैन ।’

४, वैचारिक स्पष्टता
नेता श्रेष्ठले समाजवादकाे आधार निर्माणका लागि वैचारिक स्पष्टता जरुरी रहेकाे बताउँछन् । वैचारिक स्पष्टता नहुँदा नेपालकाे राजनीतिक आन्दाेलन भताभुङ्ग भएकाे उनले बताए । ‘यदि समाजवादकाे आधार निर्माण गर्नैपर्ने भए वैचारिक स्पष्टता पनि जरुरी छ,’ उनले भनेका छन्, ‘वैचारिक विचलनताले कहिल्यै हामीलाई समाजवादतर्फ डाेर्‍याउँदैन ।’

भूमण्डलीकृ पूँजीवादले आक्रमण बढी भएकाे र याे अवस्थामा वैचारिक स्पष्टता भएन भने समाजवाद शब्दमा मात्रै सीमित रहने बताएका छन् ।

५, राष्ट्रिय सहमति
नेता श्रेष्ठ राष्ट्रिय सहमति नभइकन समाजवादतिर जान नसकिने दाबी गर्छन् । त्यसका लागि सबै शक्ति र पाटाेबीच राष्ट्रिय सहमति कायम हुनुपर्ने बताउँछन्, भन्छन्— ‘राष्ट्रिय सहमति भनाैँ वा सबैबीच राष्ट्रकाे पक्षमा सहमति बनाउने भन्नुस् । त्याे पनि चाहिन्छ । यदि यसाे भएन भने शान्ति, सुव्यवस्था र सुशासन कायम हुँदैन । त्यसाे हुनेबित्तिकै समाजवादकाे आधार तयार पार्न सकिँदैन ।’

देशभक्त शक्तिहरूबीच सहमति हुनुपर्ने भन्दै उनले थपे, ‘यदि देशभक्तहरूबीच सहमति वा सहकार्य हुन सकेन भने हामी कहिल्यै पनि समाजवादकाे आधार निर्माण गर्न सक्दैनाैँ । राष्ट्रिय सहमति गरेर मात्रै अगाडि बढ्याैँ भने त्याे राम्राे हुन्छ ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

seven − two =