नेपालमा विदेशीहरूकाे हात माथि हुने गरेकाे छ : पूर्वप्रधानमन्त्री नेपाल (भिडिओसहित)

काठमाडाैँ । पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदाल दल नेकपा (एकीकृत समाजवादी) माधवकुमार नेपालले नेपालले कुनै पनि देशसँग शत्रुता नबनाउनुपर्ने बताएका छन् । आइतबार पुष्पलाल मित्रता केन्द्रले काठमाडाैँमा आयाेजना गरेकाे कार्यक्रमलाई सम्बाेधन गर्दै उनले यस्ताे बताएका हुन् । ‘नेपालले कूटनीतिक काैशलताका साथ आफ्नाे सम्बन्धलाई अगि बढाउनुपर्दछ । कसैसँग पनि शत्रुता नबनाउने, नहाेस् भन्ने कुरालाई आत्मसम्मान गर्ने गर्नुपर्छ,’ उनले भनेका छन् ।
तर नेपालसँग कूटनीतिक काैशलताकाे कमी देखिएकाे उनले बताएका छन् । ‘नेपालसँग कूटनीतिक काैशलताकाे कमी देखिन्छ । अनेक सम्झाैतामा नेपाल चुक्ने गरेकाे छ । विदेशीहरूकाे हात माथि हुने गरेकाे छ । उसकाे स्वादकाे निम्ति हामीले नतमस्तक हुने गरेका छाैँ र राष्ट्रियताप्रतिकाे हाम्राे भावना मरेकाे छ । यसाे हुनु हुँदैन । याे हाम्राे राष्ट्रिय र स्वाभिमानविरुद्ध हुन्छ,’ नेपालले भनेका छन् ।
यस्तै उनले आफूले विश्वमा कहीँ पनि युद्ध नहाेस् भन्ने चाहेकाे बताए । यदि युद्ध भइहाले पनि त्यसमा नेपाल सामेल हुन नहुने उनले बताएका छन् ।








