नागरिकता विधेयकमा प्रचण्ड र नारायणकाजीका भिन्नाभिन्नै कुरा !

काठमाडौँ । सरकारले हिजो मात्रै प्रतिनिधिसभाबाट नेपाल नागरिकता ऐन २०६३ को संशोधन विधेयक ‘नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक २०७९’ पारित गरेको छ ।
नागरिकता विधेयक पारित भएसँगै विभिन्न तर्क वितर्क तथा मतहरू सार्वजनिक हुने क्रम जारी नै छ । यस्तोमा सत्ता साझेदार दल नेकपा माओवादी केन्द्रका नेताहरूले विधेयक र यसका व्यवस्थाबारे भिन्नाभिन्नै मत व्यक्त गरेका छन् ।
पारित विधेयकबारे माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नागरिकता विधेयक पारित भएकाे सुनाउन पाउँदा गर्व महसुस गरेको बताएका छन् ।
याे पनिः नागरिकता विधेयक संसद्बाट पारित गर्दा गर्व महसुस भएको छ : प्रचण्ड (भिडिओ)
राजनीतिक कार्यक्रमको सिलसिलामा जनकपुर पुगेका अध्यक्ष प्रचण्डले जनकपुर आएर पार्टी र व्यक्तिगततर्फबाट नागरिकता विधेयक पारित भएको सुनाउन पाउँदा गर्व लागेको बताएका हुन् । उनले भने, ‘यो कुरा जनकपुरमै आएर पार्टीका तर्फबाट र मेरो तर्फबाट सुनाउन पाउँदा र तपाईंरूका माध्यमले मधेसका सम्पूर्ण जनसमुदायलाई सुनाउन पाउँदा गर्व लागेको छ ।’
अध्यक्ष दाहालले नागरिकता विधेयक पारित भएकामा गर्व महसुस गरिरहेको बेला उनकै पार्टीका नेता नारायणकाजी श्रेष्ठले सरकारले बलजफ्ती विधेयक पारित गरेको बताएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै उनले नागरिकता विधेयक पारित गर्दा अपनाइएको प्रक्रिया र वैवाहिक अंगीकृत नागरिकताको हकमा गरिएको व्यवस्था गलत भएको भन्दै सधैँ बलजफ्ती नसहने बताएका हुन् ।
उनले भने, “नेपाली कांग्रेसले गठबन्धनको नाममा निरन्तरको बलजफ्ती हामीलाई सधैँ स्वीकार्य हुन सक्दैन भन्ने कुरा समयमै बुझोस् ।”
त्यस्तै, नेता श्रेष्ठले नागरिकता विधेयक प्रतिनिधि सभाले राज्य व्यवस्था समितिमा पठाएको र समितिले समितिभित्र र बाहिर गम्भीर बहस गरेको उल्लेख गरेका छन् ।
उनले त्यसमा सहमति हुन नसकेपछि बहुमतले वैवाहिक अंगीकृत नागरिकता महिलाको हकमा ७ वर्ष पछि दिने र तत्कालै व्यावहारिक काममा कुनै समस्या नपर्ने गरी परिचय पत्र दिने प्रावधान राखेको स्मरणसमेत गरेका छन् ।








