वनमन्त्री यादवले भने– निकुञ्जका कारण माडीवासीले दुःख पाउनुभयो, समाधान गर्छु

चितवन । वन तथा वातावरण मन्त्री प्रदीप यादवले निकुञ्जका कारण माडीवासीलाई धेरै दुःख पाएको बताएका छन् ।
परेका समस्या समाधान गर्न मन्त्रालयले पहल गर्ने बताएका छन् । चितवन राष्ट्रिय निकुञ्ज हुँदै गएको हुलाकी सडक, भूमिगत विद्युतीकरण, रोकिएका पुलहरूलगायत संरचनाको निरीक्षण गर्दै मन्त्री यादवले भने, ‘माडीको विकासको लागि रोकिएका सबै कामहरू अगाडि बढाउन लाग्नेछु । मन्त्री यादवसँग भरतपुर महानगर प्रमुख रेनु दाहालले पनि माडीको रोकिएका कामहरूलाई अगाडि बढाउन जोड दिएकी थिइन् ।
निरीक्षणमा वन मन्त्रालयका सचिव डा. पेमनारायण कँडेल र राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक डा रामचन्द्र कँडेललगायतको उपस्थिति थियो । मन्त्री यादवले माडीवासीको दुःख समाधान हुने गरी तत्काल काम अघि बढाउनका लागि आवश्यक प्रक्रिया थाल्न निर्देशन दिएका थिए ।
माडीमा हाल विद्युत् लाइन लगेको क्षेत्रमा थप काम गर्न कुनै समस्या नहुने र नयाँ ठाउँ प्रयोग गर्नुपरेमा आवश्यक प्रक्रिया अघि बढाउन र सबै समस्या एकमुष्ट रूपमा तत्काल प्रस्तुत गर्न मन्त्री यादवले निर्देशन दिए ।








