कांग्रेसले प्रजातान्त्रिक लडाइँका सहिदहरूकाे उचित सम्मान गर्न सकेन : केपी ओली (भिडिओ)

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको बताएका छन् ।
पुष्पलाल स्मृति दिवसका अवसरमा शनिवार काठमाडौँमा आयोजित कार्यक्रममा ओलीले राजनीतिक पूर्वाग्रहका आधारमा कांग्रेसले प्रजातान्त्रिक लडाइँमा शहीद भएकाहरूलाई उचित सम्मान दिन नसकेको बताएका हुन् । उनले भीमदत्त पन्त लगायत केहीलाई कांग्रेसले शहीद नमानेको तर्क गरे ।
उनले अग्रजहरूलाई सम्मान गर्दा फराकिलो सोच राख्नुपर्ने बताउनुभयो । पुष्पलालले स्थापना गरेको पार्टीका रूपमा नेकपा एमाले बलियो पार्टीको रूपमा रहेको भन्दै उनले मुलुकलाई समृद्ध नेपाल, सुखी नेपाली बनाएर छोड्ने प्रतिबद्धता जनाए ।
पुष्पलालको जीवनको चर्चा गर्दै अध्यक्ष ओलीले नेपालको राजनीतिक, सामाजिक र आर्थिक परिवर्तनमा उनले पुर्याएकाे योगदानको स्मरण गरेका थिए ।
कार्यक्रममा अन्य विभिन्न पार्टीबाट कार्यकर्तालाई ओलीले एमालेमा प्रवेश गराएका थिए भने अग्रज नेताहरूलाई सम्मान गरिएको थियो ।








