पुष्पलालको स्मृतिमा ओलीले गरे कांग्रेसको आलोचना

काठमाडौँ  ।  नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भीमदत्त पन्तको नाम लिँदा कांग्रेसलाई सिरिङ्ङ हुने बताएका छन् । कम्युनिस्ट पार्टीका संस्थापक पुष्पलाल श्रेष्ठको स्मृति दिवसका आयोजित कार्यक्रममा ओलीले यस्तो बताएका हुन् ।

सहिद भीमदत्त पन्तको टाउको कांग्रेसले नै कटाएको उनको आरोप छ । ‘मातृकाप्रसाद कोइराला प्रधानमन्त्री छँदा २०१० सालमा भीमदत्त पन्तको टाउको कांग्रेसले कटाएको थियो । त्यसैले कांग्रेसले भीमदत्तलाई सहिद मान्दैन,’ ओलीले भने ।

उनले प्रजातान्त्रिक लडाइँमा सहिद भएकाहरूलाई कांग्रेसले उचित सम्मान दिन नसकेको टिप्पणी पनि गरेका छन् । भीमदत्त र विद्यार्थी नेता चिनियाँ काजीको नाम लिँदा कांग्रेस सिरिङ्ग हुने गरेको भन्दै उनले व्यङ्ग्य गरे ।

पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले दुर्गानन्द झाले राजा महेन्द्रको गाडीमाथि बम हान्दा कांग्रेसले जिम्मेवारी नलिएको र सहिद पनि नमानेको बताए । ‘उनले बम हानेका थिए भने कांग्रेसकै कार्यकर्ताका रूपमा परिवर्तनका लागि हानेका थिए,’ अध्यक्ष ओलीले भने, ‘ तर कांग्रेसले त्यसको ओनरसीप लिएन । दुर्गानन्दलाई सहिद मानेनन् ।’

भीमदत्तमात्र नभई दुर्गानन्द झा, यज्ञबहादुर थापा, भीमनारायण श्रेष्ठलाई पनि नसम्झिएको बताए । सत्ता स्वार्थका कारण कांग्रेसले विगतमा आन्दोलन गर्नेहरूलाई सम्झिन नसकेको ओलीको आरोप छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × one =