प्रदेश १ नामकरण : मुख्यमन्त्री कोसी बाहेकका प्रस्ताव पर्खँदै, एमाले कोसी नै हुनुपर्ने अडानमा

विराटनगर । प्रदेश १ को नामकरणको बारेमा छलफल गर्न बसेको सर्वदलीय बैठक कुनै निष्कर्षमा नपुगी सकिएको छ । दिउँसो १ बजेदेखि बसेको बैठक दिउँसो ४ बजेसम्म बसेपनि कुनै निष्कर्षमा पुग्न नसकेको हो ।

प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीको आव्हानमा बसेकाे बैठकमा दलहरूले आफ्नो अडान राखेका थिए । बैठकका सबै विषयमा छलफल भए पनि थप घनिभूत रूपमा गरेर अघि बढ्ने बारेमा कुराकानी भएको सभामुख प्रदीपकुमार भण्डारीले बताए ।

आगामी साउन ८ गते प्रदेश सभाको बैठक बोलाइएकोले त्यो दिन भने प्रदेश १ को नामकरणको विषयले प्रवेश नपाउने सभामुख भण्डारीले बताए । प्रदेश १ सभामा प्रतिनिधित्व गर्ने दलहरूलाई सभामुख भण्डारीले बैठकमा बोलाएका हुन् ।

बैठकमा नेकपा एमालेका जीवन घिमिरे र हिक्मतकुमार कार्की, नेपाली कांग्रेसका दलका नेता राजीव कोइराला, नेकपा माओवादी केन्द्रका इन्द्रबहादुर आङ्बो, नेकपा एकीकृत समाजवादी पार्टीको तर्फबाट मुख्यमन्त्री राजेन्द्रकुमार राई सहभागी थिए ।

त्यस्तै, जनता समाजवादीको तर्फबाट जयराम यादव, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट विष्णु तुम्बाहाम्फे सहभागी थिए ।

बैठकमा दलहरूले आफ्ना मागलाई अघि सारेका छन् । प्रदेशको नाम किरात हुनुपर्ने धारणा राख्दै आएका मुख्यमन्त्री राजेन्द्र राईले कोसी र किरात बाहेकको वैकल्पिक नाममा पछि छलफल गर्न सकिने बताएको बैठकमा सहभागी दलका एक नेताले बताए ।

‘नेकपा एमालेको तर्फबाट कोसी प्रदेश राख्नु पर्ने प्रस्ताव घनिभूत रूपमा राखेको थियो’, ती सहभागी नेताले भने, ‘एमाले लचक भएर कोसी भन्दा अर्को विकल्पमा जाने हो भने मुख्यमन्त्री राजेन्द्र राई र आर्थिक मामिला तथा योजना मन्त्री इन्द्रबहादुर आङ्बो ज्यू पनि विकल्पमा जानसक्ने देखिन्छ ।’

बैठकमा सहभागी नेताका अनुसार, प्रदेश १ को नाम किरात हुनु पर्ने भन्दै आएका मुख्यमन्त्री राईले दलहरूको बैठकमा पहिचानको मुद्दा छाडेर जाने हो भने कोसी नाम छाडेर अर्को विकल्पको नाममा स्वीकार गरेर जान सकिने पनि बताएका थिए ।

‘बैठकमा मुख्यमन्त्री राई कोसी बाहेकका जुनै नाममा पनि सहमतिमा पुग्नसक्ने देखिएको छ’, ती नेताले भने, ‘एमाले कोसी नछाड्ने अनि माओवादी र नेकपा एस कोसी नमान्ने हुँदा समस्या देखिएको छ ।’

प्रदेश सरकारको तर्फबाट नामको सहजीकरणको जिम्मेवारी पाएका जसपा संसदीय दलका नेता तथा स्वास्थ्य मन्त्री जयराम यादवले किरात-लिम्बुवान, शेर्पालुङ-मधेस प्रदेशको प्रस्ताव गर्दै आएको भएपनि अर्को विकल्पको नाम आउँदा सहमत हुन सकिने बताएका थिए । उनले भनेका थिए, ‘हामीले हाम्रो तर्फबाट नाम प्रस्ताव गरिसकेका छौँ, तर सबै दलहरू सहमतिमा जाने हो भने कुनै हिमालको नाम, कुनै विशिष्ट व्यक्तिको नाम वा विराट, विजयपुरको नाममा पनि छलफल गर्न सकिन्छ ।’

नेपाली कांग्रेसले भने कुनैपनि नाम प्रस्ताव गरेन । नेपाली कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाले प्रदेश १ को नाम सप्तकोसी राख्नुपर्ने प्रस्ताव आफ्नो दलको भएको बताएका थिए । प्रदेश १को नाम सप्तकोसी भन्दै आएपनि यो नामको विकल्पको रूपमा अर्को नाम आयो भने या विजयपुर प्रदेश नै आउँदा पनि समस्या नहुने बताएको बैठकमा सहभागी ती नेताले बताए ।

बैठकपछि पत्रकारसँग कुरा गर्दै संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी सांसद तथा सामाजिक विकास राज्यमन्त्री विष्णु तुम्बाहाम्फेले नामको विषय छलफल भएपनि निष्कर्षमा पुग्न नसकेको बताइन् ।’ आजै कुनै निष्कर्षमा पुग्ने वातावरण बनेन’, उनले भनिन्, ‘विज्ञहरूसँग बस्ने र थप छलफल गरेर अर्को बैठक बस्नेगरि छलफल सकिएको छ ।’

‘नाम अहिले नै जाने भन्ने निर्णय भएन’, उनले भनिन्, ‘सबै दलहरूले इतिहासविद्, विज्ञसहित बसेर छलफल गरेर मात्र थप छलफल गरेर सहमतिपछि मात्र नामको प्रस्ताव सदनमा लग्ने कुरा भएको छ ।’

नेकपा एमालेको तर्फबाट बैठकमा सहभागी जीवन घिमिरेले चालु अधिवेशनबाट कुनैपनि हालतमा नाम टुंगोमा पुर्‍याउनु पर्छ भन्नेमा एमाले रहेको बताए । नाम टुंगो लगाउने बारेमा अरू दलहरू पनि सहमत भएको बताए ।

तत्काल नामको प्रस्ताव लिएर जाने कि छलफल पछि मात्र नामको प्रस्ताव लग्ने भन्नेबारेमा पनि बैठकमा छलफल भएको थियो । बैठकमा दुवै खालको प्रस्ताव दलहरूबाट आएको घिमिरेले बताए । सहमति पछि मात्र प्रदेश १ को नामकरणको प्रक्रिया सुरु गर्ने भन्नेमा दलहरू पुगेका छन् । ‘८ गते नै प्रक्रिया सुरु गरौँ भन्ने नेपाली कांग्रेसको दलको तर्फबाट प्रस्ताव आएको थियो’, उनले भने, ‘पछि छलफल गर्दैजाँदा सहमतिपछि मात्र प्रक्रिया आरम्भ गरौँ भन्ने कुरा भएको छ ।’

प्रदेश १ को राजधानी साझा सहमतिबाट तोकेको जस्तै प्रदेश १ को नाम पनि साझा सहमतिबाट तोक्ने बारेमा दलहरू बिच पटकपटक छलफल गर्ने गरी बैठक सकिएको छ ।

नेपाली कांग्रेसले तत्काल नामको प्रस्ताव अघि बढाऊँ भनेको प्रमुख सचेतक सुर्माराज राईले बताए । पहिचान छाड्दाको वैकल्पिक नामको बारेमा माओवादी र नेकपा एसले अर्को विकल्पको नामको प्रस्ताव ल्याउन भनेका थिए । आजको बैठक सकारात्मक दिशामा अघि बढेको उनले बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *