सहमतिमै नागरिकता विधेयक पारित गर्न एमालेकाे माग

काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकमा नागरिकताको राष्ट्रियतासँग जोडिएकाले सर्वदलीय सहमतिद्वारा नेपाल नागरिकता ऐन, २०६३ (पहिलो संशोधन), विधेयक २०७९ पारितका लागि सर्वसहमतिकाे माग गरिएकाे छ ।
सो विधेयकमाथिको दफाबार छलफलका क्रममा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसद खगराज अधिकारीले नागरिकतासम्बन्धी विश्वका अन्य मुलुकको अनुभवका आधारमा निर्णयमा पुग्नुपर्ने बताए ।
एमालेकै अर्की सांसद गङ्गा चौधरी (सत्गौवा) ले सार्कका अन्य मुलुकका अभ्यासलाई हेरेर नेपाली नागरिकसँग वैवाहिक सम्बन्ध कायम गर्नेबित्तिकै नभई विवाहको सात वर्षपछि मात्रै विदेशीलाई अङ्गीकृत नागरिकता दिने व्यवस्था गर्न माग गरे ।
बैठकमा संशोधनकर्ता दुर्गा पौडेल, घनश्याम खतिवडा, अञ्जना विसङ्खे, नरबहादुर धामी, डा सूर्यप्रसाद पाठक, गोकुलप्रसाद बास्कोटालगायतले छलफलमा भाग लिएका थिए ।
आजको बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले दफाबार छलफलका लागि प्रस्तुत गरेककाे प्रस्ताव पारित भएपछि संशोधनकर्ता सांसदले आफ्नो धारणा राख्नेक्रम सुरु भएको हो ।








