प्रदेश संरचना खारेजलगायतका माग राख्दै सडक ओर्लियाे राप्रपा नेपाल (तस्बिरहरू)

काठमाडाैँ । राप्रपा नेपालका जनवर्गीय संगठनहरूले विभिन्न मागहरू राख्दै संयुक्तरूपमा आज राजधानीमा विराेध प्रदर्शन गरेका छन् । प्रदेश संरचना खारेज हुनुपर्ने , धर्मनिरपेक्षता खारेज गरी सनातन हिन्दुराष्ट्रको पहिचान कायम हुनुपर्ने, भ्रष्टाचारको अन्त्य गरी भ्रष्टाचारिलाई कारबाही गरिनुपर्ने, रोजगारीको सुनिश्चितता हुनुपर्ने , महङ्गी र कालोबजारी नियन्त्रण गरिनुपर्ने, वैदेशिक हस्तक्षेप अन्त्य हुनुपर्ने माग गर्दै माइतीघर मण्डलाबाट जुलुस निकालिएको छ ।
प्रदर्शनमा जनवर्गीय संगठनका नेता , कार्यकर्तासङ्गै पार्टीका नेताहरूको समेत सहभागिता रहेको छ । माइतीघर मण्डलाबाट शुरू भएको विराेध प्रदर्शन बानेश्वरतर्फ अघि बढेको छ । युवक, विद्यार्थी ,महिला, युवा मोर्चा, मजदुर, पर्वप्रहरी , धार्मिक संगठन, सांस्कृतिक संगठनलगायतका जनवर्गीय संगठनहरूको प्रदर्शनमा सहभागिता छ ।
राप्रपा नेपाललाई पुनर्जागृत गरेपछि पछिल्लो समय कमल थापा नेतृत्वमा रहेको राप्रपा नेपाल संगठन निर्माणसङ्गै सडक केन्द्रित भएको पार्टीका महामन्त्री राजाराम बर्तौलाले बताए । उनकाअनुसार आन्दोलनलाई आगामी दिनमा चरणबद्धरूपमा अघि बढाइनेछ ।









