उद्देश्यहीन यात्रीको एकताबाट ‘महासमाजवादी केन्द्र’ बनेपनि के उत्साह पैदा गर्छ र ?

काठमाडौँ । नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले महासमाजवादी केन्द्र बनेपनि केही उत्साह पैदा नगर्ने तर्क गरेका छन् । चार कम्युनिस्ट पार्टी एकीकरण गरेर ‘समाजवादी केन्द्र’ बनाउने चर्चा भई रहेको बेला रिजालले यस्तो तर्क गरेका हुन् ।

उद्देश्यहीन यात्रीको एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई केही फरक नपर्ने उनले जिकिर गरे । ‘अधोगतितिर लम्किरहेका, जीवनको उत्तरार्द्धमा पुगेका, पटक पटक परीक्षण भइसकेका, आफ्नै असफलताका भारीले किचिएका, ईष्याले जल्दाजल्दै खुम्चिएका र उद्देश्यहीन यात्रीहरुबीचको एकताबाट समाजवादी होइन, महासमाजवादी केन्द्र बनाए पनि त्यसले के उत्साह पैदा गर्दछ र ? नेता रिजालले सामाजिक सञ्जालमार्फत प्रश्न गर्दै भनेका छन्, ‘मिलेरै चुनाव लड्दा हविगत देखिएकै छ । कांग्रेसको पुच्छर समातेर वैतरणी तर्नेबाहेक अरू कुनै उपाय र उद्देश्य नभएका शक्तिहरुबीचको एकताले नेपालको कम्युनिस्ट आन्दोलनलाई के नै फरक पर्ला र ?’

उनले नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र डा बाबुराम भट्टराईको पार्टी चुनावमा पराजित हुने डरले एकताको प्रयास गरेका आरोप लगाए । ‘एक्लै लड्दा माओवादीले ८ सिट ल्याउँछ भनेर गृहमन्त्रीले पार्टीको बैठकमा रिपोर्ट पेस गरेका छन्, केही दिनअघि कांग्रेस नेता मीनेन्द्र रिजालले अनलाइनखबरमा आँकडासहित माओवादीको ८ सिटभन्दा बढी नआउने विश्लेषण गरेका छन्,’ रिजालले अगाडि भने, ‘स्थानीय तह निर्वाचनमा एक्लै लडेको भए माओवादीको ५० सिट आउने रहेछ भन्ने तथ्यहरूले देखाएका छन् । एकीकृत समाजवादीका बारेमा त धेरै भनिरहनै परेन, बाबुराम भट्टराईको सुपरिचित अस्थिरताले उनलाई एक ठाउँमा अडिनै दिएको छैन ।’

यो पनि : प्रचण्डकाे ‘नेकपा समाजवादी केन्द्र’काे प्रस्तावमाथि के भन्छन् दुई समाजवादी ?

माओवादी केन्द्र का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले समाजवादी केन्द्र निर्माणको प्रस्ताव अगाडि सारेका छन् । माओवादी केन्द्र, बाबुराम भट्टराईको जसपा, माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी र वामदेव गौतम नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी एकता राष्ट्रिय अभियानबीच पार्टी एकीकरण गरेर नेकपा समाजवादी केन्द्र गठन गर्न प्रचण्डले प्रस्ताव गरेका हुन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

four × two =