फेरि अर्को फुटका लागि कम्युनिस्ट पार्टीबिच एकता अभियान सुरु भयो : ओली

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी ओलीले कम्युनिस्ट पार्टीबिच फेरि अर्को फुटका लागि एकता अभियान सुरु भएको बताएका छन् ।
बुधवार काठमाडौँमा नेकपा एमाले बागमती प्रदेश स्तरीय भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एकता अभियान फेरि अर्को फुटका लागि भएको र सफल नहुने बताएका हुन् ।
ओलीले वास्तविक वामपन्थी कोही भए गठबन्धन छाडेर एकतामा आउन आह्वान पनि गरे । उनले आफूलाई वामपन्थी भन्नेहरू कांग्रेसको पिँडुलामा समातेर रुने गरेको तर्क गरे । सत्ता गठबन्धनभित्रका दलका नेताका स्वार्थले आफैँ फुट्ने भन्दै उनले एकता तोड्नका लागि चाँदीको तरबार बनाउनु आवश्यक नरहेको बताए ।
ओलीले आफू नेतृत्वको सरकारले कोरोना महामारीका बेला पनि सुशासन कायम गर्न सफल भएपनि अहिलेको एक वर्षको सरकारले मुलुकमा भयानक अवस्था सिर्जना गरेको आरोप लगाए । उनले समाजवादको आधार तयार गर्ने अभियानलाई अघि बढाउनका लागि एमालेको बहुमतको सरकार आवश्यक पर्ने धारणा राखे ।
ओलीले आफ्नै पार्टीका कार्यकर्ताहरूले अर्कालाई भोट दिने प्रवृत्ति देखाउनेले पार्टीबाटै राजीनामा दिनुपर्ने बताए । एमाले पार्टी बनाउन, पार्टीको शुद्धीकरण गर्नुपर्न आफूलाई कम्युनिस्ट बनाउनुपर्ने उनको भनाई छ ।
उनले सरकारले विभिन्न बहाना बनाएर निर्वाचनको मिति पछि सार्ने प्रयास गरिरहेको भन्दै आगामी मंसिरमा चुनाव हुनैपर्ने जिकिर गरे ।








