शंकर पाेखरेल भन्छन्- कालाे धन सेताे बनाउन नपाउनेहरूले गभर्नरलाई एमालेसँग जाेडिरहेका छन्

काठमाडाैँ । नेकपा (एमाले) का महासचिव शंकर पाेखरेलले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीकाे बचाउ गरेका छन् । एमालेकाे अर्थ तथा याेजना समितिमा भएकाे एम अधिकारीबारे गरिएकाे प्रश्नमा भनेका छन्, ‘एमालेले पनि एम अधिकारी महाप्रसाद हाेइनन् भनेर भनिसकेकाे र स्वयम् गभर्नरले पनि म हाेइन भनेपछि त यस कुराबारे अनावश्यक हाे-हल्ला गर्नुपर्ने कुनै कारण नै छैन ।’
उनले कालाे धन सेता बनाउन नपाएकाहरूले यसबारे बढी हल्ला गरेकाे टिप्पणी गरेका छन् । ‘कालाे धन सेता बनाउन नपाएकाहरूले गभर्नरलाई एमालेसँग जाेडेर व्याख्या गरिरहेका छन् । नभए त्यहाँ कुनैखाले प्रहार गर्नुपर्ने कारण देखिँदैन । आज जुनखाले उहाँमाथि प्रहार भइरहेकाे छ, त्याेचाहिँ कालाे धनकै खेल हाे ।’
‘साना दलहरू हाबी हुँदा लाेकतन्त्र बलियाे हुँदैन’
उनले सानाे दलहरू हाबी हुँदा लाेकतन्त्र कमजाेर हुनेसमेत बताएका छन् । पजातान्त्रिक शक्ति कांग्रेससँग र समाजवादी/प्रगतिशील शक्तिहरू एमालेकै वरिपरि गाेलबद्ध हुनुपर्ने दाेहाेर्याउँदै उनले भनेका छन्, ‘सानाे शक्तिहरू/दलहरू हाबी हुँदा त लाेकतन्त्र कमजाेर बन्छ ।’
उनले माओवादी केन्द्रकाे भारत भ्रमणप्रति लक्षित गर्दै थपे— ‘सानाे-तिनाे दलहरू प्रधानमन्त्री खाेज्दै विदेश धाउँदा त हाम्राे लाेकतन्त्र कमजाेर बनिहाल्छ नि ।’








