‘वाम एकता’प्रति रुचि छैन, आसन्न निर्वाचनपछि एमालेले सरकार बनाउँछ : विशाल भट्टराई (भिडिओवार्ता)

काठमाडाैँ । नेकपा (एमाले) का प्रमुख सचेतक विशाल भट्टराईले एम अधिकारीबारे समय आएपछि प्रष्ट्याउने बताएका छन् । मकालुखबरसँग कुराकानी गर्दै उनले भने, ‘धेरैले विशाल भट्टराईले नै याे गरेकाे हाे भनेर भने । जिल्ला एउटै भएकाले पनि ममाथि धेरैजनाकाे शङ्का रह्याे, धेरै आशङ्काहरू व्यक्त गरे । तर उहाँ (गभर्नर महाप्रसाद अधकिारी) एमालेकाे कुनै पनि कमिटीकाे सदस्य हुनुहुन्न । मैले उहाँलाई जिल्लावासी हुनुकाे नाताले पार्टीमा आउनुस् भनेँ, तर कहिल्यै मान्नुभएन ।’

उनले एम अधिकारीबारे समय आएपछि पार्टीले प्रष्ट पार्नेसमेत बताएका छन् । ‘समय आएपछि एमालेले त्यसबारे प्रष्ट पार्ला । अहिले धेरै केही नभनाैँ, नहुने कुरालाई किन ठूलाे पारिरहनु । फेरि उहाँले पनि म हाेइन भनिसक्नुभएकाे छ, अनि पार्टीले पनि भनिसकेकाे छ,’ उनले भनेका छन् ।

‘प्रचण्डकाे भ्रमणले देशकाे शिर निहुरियाे’

सचेतक भट्टराई पूर्वप्रधानमन्त्री एवम् सत्ता साझेदार दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’काे भर्खरै भएकाे भारत भ्रमणले देशकाे शिरै निहुरिएकाे आराेप लगाउँछन् । प्रचण्डकाे भ्रमण माओवादी केन्द्रसँग मात्रै सम्बन्धित नभएर सिङ्गाे देशसँग सम्बन्धित रहेकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘उहाँकाे भ्रमण नेपाली जनता र देशसँग पनि जाेडिन्छ । उहाँ २/२ पटक देशकाे प्रधानमन्त्री बन्नुभएकाे व्यक्ति हुनुहुन्छ । उहाँकाे भ्रमणले देशकाे शिर निहुराउने काम गरेकाे छ ।’

भारत पुगेर प्रधानमन्त्री शेरबहादुर देउवापत्नी आरजू राणा देउवासँग भेट्नुले सार्वभाैम नेपाली जनताकाे आत्मनिर्णयकाे अधिकारमाथि ठाडाे अस्तक्षेप गरेकाे भन्दै उनले भनेका छन्, ‘आरजूसँगै भेट्नु थियाे भने त बालुवाटार नै काफी थियाे हाेला, खुमलटार नै काफी थियाे हाेला । आरजूले यहाँका विभिन्न व्यापारी-व्यवसायी कर्मचारीहरू बाेलाएर अनेकाैं सेटिङ्ग गरेकाे हाेटलहरू थिए हाेला । उहाँलाई किन भारत जानुपर्थ्याे । भारतीय अधिकारीहरू साक्षी राखेर किन संवाद गर्नपुर्‍याे । नेपाली राजनीतिकाे निर्णायक भनेकाे त नेपाली जनता हुन् नि । किन भारतीय अधिकारीहरूलाई राखेर किन बहस गर्नुपर्थ्याे ।’

‘गठबन्धन देशका लागि बाेझ भयाे, भत्किनुपर्छ’

सचेतक भट्टराई गठबन्धन नभत्किएसम्म मुलुक नबन्ने जिकिर गर्छन् । ‘याे गठबन्धन त देशका लागि बाेझ भयाे,’ उनले भनेका छन्, ‘यसले कसैलाई प्रधानमन्त्री, दलहरूका केही नेताहरूलाई मन्त्री र खासखास आफ्ना मान्छेहरूलाई जागिर दिनेबाहेक त केही पनि गरेकाे देखिँदैन ।’

यही गठबन्धनकाे सरकार हुँदा ३० प्रतिशतसम्म मूल्यवृद्धि भएकाे उल्लेख गर्दै उनले भनेका छन्, ‘देश यत्ति ठूलाे रसातलमा पुर्‍याइरहेकाे छ याे सरकारले । त्याे भएर एमालेले यसलाई देशकाे बाेझ भनेकाे हाे । त्यही भएर हामी गठबन्धन भत्कियाेस् भन्ने चाहन्छाैँ । अब याे भत्किनुपर्छ ।’

एमालेले भत्काउन खाेजेकाे थियाे, सकेन नि ? भन्ने जिज्ञासामा उनी थप्छन्— ‘नभत्किन पनि सक्छ याे गठबन्धन । किनकी याे देशी-विदेशी तत्त्वहरूकाे इशारामा पनि चलेकाे छ । तर भत्किनुपर्छ भन्नेचाहिँ हाम्राे लाइन हाे ।’

‘वाम एकताप्रति रुचि छैन, निर्वाचनपछि हामी सरकार बनाउँछाैँ’

सचेतक भट्टराई अहिले तत्काल वाम एकताकाे सम्भावना देख्दैनन् । ‘अहिल्यै त वाम एकताकाे सम्भावना पनि छैन,’ उनले भनेका छन्, ‘र, यसप्रति एमालेकाे खास रुचि पनि छैन । किनकी त्यसमा त हामी असफल भइसक्याैँ ।’

साेही वाम गठबन्धनकै कारण एमाले सग्लाे नरहेकाे पनि सुनाउँछन् ।

||एमालेका सचेतक विशाल भट्टराई । तस्बिर : मकालुखबर/सराेज बस्नेत ||

राजनीतिक वृत्तमा कुरा उठिरहेकाे भएपनि साेचेजस्तै सजिलाेगरी वाम एकता नहुने उनकाे बुझाइ छ । त्यसाे त एमालेले हालकाे गठबन्धन नटुटेसम्म त्यसका लागि बहस नगर्ने अडान लिएकाे बताउँछन् उनी, भन्छन्— ‘त्याे साेचेजस्तै सजिलाे पनि छैन । हालकाे गठबन्धन रहेसम्म बाटाे खुलेकाे छैन ।’

सँगै आउँदाे निर्वाचनमा एमाले एक्लै लड्ने उनले बताएका छन् । ‘एमालेले आफ्नै बलबुतामा आसन्न निर्वाचन लड्छ र सरकार बनाउँछ । एमालेकाे सरकार पुन: अग्रगमनकै लागि भएपनि चाहिएकाे छ । याे जरुरी छ । त्याे जनताले बुझ्नेछन्, हामीलाई जिताउनेछन् र सरकार बन्नेछ । देशलाई सन्तुलनमा ल्याउनका लागि एमालेकाे सरकार चाहिएकाे छ,’ उनले भनेका छन् ।

‘प्रचण्ड माधवले वामपन्थ भन्दै कांग्रेसलाई बाेक्नुभयाे’

||एमालेका सचेतक विशाल भट्टराई । तस्बिर : मकालुखबर/सराेज बस्नेत ||

उनी कांग्रेसकाे नेतृत्वमा वामपन्थीहरूले परिकल्पना गरेकाे समाजवाद नआउने बताउँछन् । त्यसका लागि वामपन्थी शक्तिहरू एकैठाउँ उभिनुपर्ने भएपनि त्याे नभएकाे दुखेसाे छ उनकाे । ‘उहाँहरू आफूलाई प्रगतिशील शक्ति भन्नुहुन्छ । वामपन्थ-वामपन्थ भन्नुहुन्छ । तर लाग्नचाहिँ कांग्रेसकाे पछाडि लाग्नुहुन्छ । अझ कांग्रेसकाे नेतृत्वमा बस्नुहुन्छ । यसाे हुँदा पनि हामी एकठाउँमा हुन सकेनाैँ,’ उनले भनेका छन् ।

एमालेले ‘काेही वामपन्थी भए आउ, एकता गराैँ’ भनेर आह्वान गरेकाे भएपनि काेही-कुनै वामपन्थी नभएका कारण नआएकाे भनाइ छ उनकाे । ‘उहाँहरू वामपन्थी आदर्शमा हुनुहन्छ, परिवर्तन चाहिएकाे हाे भन्नुहुन्छ । अहिलेकाे पछाैटेपनलाई अग्रगमतिर लानुपर्छ भन्नुहुन्छ, तर बाेक्नचाहिँ कांग्रेसलाई बाेक्नुहुन्छ,’ उनले भनेका छन्, ‘उहाँहरू वामपन्थी नै हाेइन । त्यसाे भए त हाम्राे आह्वानमा आइहाल्नु हुन्थ्याे ।’

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *