आर्थिक समृद्धि र जनताका आवश्यकता पूरा गर्न इन्जिनियरकाे भूमिका महत्त्वपूर्ण : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आर्थिक समृद्धिको विकास र जनताका आवश्यकता पूरा गर्न इन्जिनियरको भूमिका महत्त्वपूर्ण रहेको बताएका छन् ।
६०औँ इन्जिनियर्स दिवसको अवसरमा नेपाल इन्जिसिनयर्स एसोसिएसनले मंगलबार काठमाडौँमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले इन्जिनियरहरूलाई थप दक्ष बनाउन सरकारले सहयोग गर्ने समेत बताए ।
उनले राज्यको परिकल्पना अनुसारको विकास निर्माण गर्ने व्यक्ति इन्जिनियरहरू नै भएको जिकिर गरे । प्रधानमन्त्री देउवाले पूर्वाधार निर्माणमा देखिएको समस्याहरूलाई समाधान गर्दै गुणस्तरीय भौतिक पूर्वाधार निर्माण गर्नु आजको आवश्यक भएकाले यसमा पनि इन्जिनियरहरूले भूमिका निर्वाह गर्नुपर्ने जिकिर गरे ।
देशको आर्थिक विकासलाई सहयोग पुर्याउने गरी आधुनिक पूर्वाधार सुविधाहरूको विकासका लागि सबै पक्षबिच समन्वयन हुनुपर्ने उनको भनाई छ ।
त्यस्तै भौतिक, पूर्वाधार तथा यातायात मन्त्री मोहम्मद ईस्तियाक राईले इन्जिसिनयर्सहरूको समस्या समाधान लागि इन्जिसिनयर्स परिषद्सम्बन्धी विधेयक सदनमा रहेको र यही अधिवेशनले पारित गर्ने बताए ।
कार्यक्रममा वरिष्ठ इन्जिनियर विजयमान शेरचनलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ । यसैगरी वेस्ट इनोभेसन अवार्ड इन्जिनियर अनुप खनाललाई प्रदान गरिएको छ । त्यस्तै अन्य इन्जिनियरहरूलाई पनि सम्मान गरिएको थियो ।








