सुदूरपश्चिममा एक वर्षमा ६७३ सवारी दुर्घटना, १९६ जनाको मृत्यु

धनगढी । सुदूरपश्चिम प्रदेशमा सवारी दुर्घटनामा परेर एक वर्षको अवधिमा १९६ जनाको मृत्यु भएको छ । आर्थिक वर्ष २०७८/७९ मा ६ सय ७३ सवारी साधन दुर्घटनामा परेर १ सय ९६ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १५३ जना पुरुष, २७ जना महिला र १६ जना बालबालिका रहेको प्रदेश ट्राफिक प्रहरी कार्यालयले अत्तरियाले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार यस अवधिमा ३ सय ५६ मोटरसाइकल, १ सय ३ जिप कार, ६० ट्याक्टर, ३२ ट्रक ट्याङ्कर, ३१ बस, २४ ट्याम्पो, १० टिपर, ४ माइक्रो, तीन डोजर लोडर, ३१ साना सवारी र १० अन्य सवारी साधन दुर्घटनामा परेका छन् ।

यस्तै सो अवधिमा भएका सवारी साधन दुर्घटनामा परेर ३ सय ९५ गम्भीर र ६ सय ६ जना सामान्य घाइते भएका छन् । गम्भीर घाइते हुनेमा २ सय ८३ पुरुष, ७३ महिला र ३९ बालबालिका रहेका छन् । त्यस्तै, सामान्य घाइते हुनेमा ४ सय १७ पुरुष, १३९ महिला र ५० बालबालिका रहेका छन् ।

प्रदेशमा आथिर्क वर्ष २०७७/७८ मा ७ सय ८३ सवारी साधन दुर्घटनामा परेर १ सय ८७ जनाको मृत्यु भएको थियो । सो अवधिमा १ हजार ९६ जना घाइते भएका थिए । आर्थिक वर्ष २०७६र७७ मा ३ सय ८६ सवारी साधन दुर्घटनामा परेर १ सय ४३ जनाको मृत्यु भएको थियो ।

एक वर्षको अवधिमा ३१ चौपायाको पनि मृत्यु भएको छ । राजमार्गमा भएका सवारी दुर्घटनामा परेर ३१ चौपायाको मृत्यु भएको हो । यस अवधिमा १० चौपाया घाइते भएका छन् ।

५ करोड ४१ लाख राजश्व संकलन

ट्राफिक प्रहरीले एक वर्षको अवधिमा सुदूरपश्चिममा ५ करोड ४१ लाख ९४ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । सवारी कारबाही बापत ट्राफिक प्रहरीले आर्थिक वर्ष २०७८/७९ मा उक्त रकम संकलन गरेको सुदूरपश्चिम ट्राफिक प्रहरी कार्यालय अत्तरियाले जनाएको छ । सो अवधिमा ९७ हजार १ सय ९ सवारी साधनमाथि कारबाही गरिएको छ ।

जसमा सबैभन्दा बढी मोटरसाइकल कारबाहीमा परेका छन् । १ यस अवधिमा ३५ हजार ४ सय २५ मोटरसाइकल कारबाही गरी २ करोड २ लाख ६९ हजार ५ सय राजश्व संकलन गरिएको छ । त्यस्तै २३ हजार ९४८ जिप कार कारबाही गर्दै १ करोड २८ लाख ५४ हजार राजश्व संकलन गरिएको प्रदेश ट्राफिक प्रहरी कार्यालयले जनाएको छ ।

सो अवधिमा १५ हजार १३६ ट्रक कारबाहीमा परेका छन् । जसबाट ८६ लाख ४० हजार राजश्व संकलन गरिएको छ । यस्तै ४ हजार २३४ बस कार बाईँमा परेका छन् । जसबाट २३ लाख ७० हजार राजश्व संकलन भएको छ । प्रदेश ट्राफिक कार्यालयका अनुसार ५ हजार ४६९ अन्य सवारी साधन कार बाईँमा परेका छन् । जसबाट २९ लाख ८७ हजार राजश्व संकलन भएको छ ।

आर्थिक वर्ष २०७७/७८ मा ट्राफिक प्रहरीले ७९ हजार ८९ सवारी साधन कारबाही गरी ४ करोड ५७ लाख ६७ हजार राजश्व संकलन गरेको थियो भने आर्थिक वर्ष २०७६/०७७ मा ५६ हजार १ सय ५३ सवारी कार बाईँमा ३ करोड ३१ लाख ९९ हजार ५ सय राजश्व संकलन भएको तथ्यांक छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *