विप्लव भन्छन्- जनताले साथ दिए दलाल पुँजीवाद मिल्काउन कुनै आइतबार कुर्नुपर्दैन (भिडिओसहित)

काठमाडाैँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ ले मुलुकमा पुँजीवादीहरू सल्बलाइरहेकाे बताएका छन् । साेमबार काठमाडाैँमा आयाेजित एक कार्यक्रमलाई सम्बाेधन गर्दै उनले भनेका छन्, ‘तपाईंहरू अनुमति दिनुस् । याे पार्टी जनताकाे पक्षमा लड्दै नै आएकाे छ । अझै लड्नेछ । कुनै दिन प्रगतिशील र देशभक्त शक्तिहरू एकठाउँ हुन्छन् । यदि जनताले साथ दिने हाे भने, यदि तपाईंहरूले साथ दिने हाे भने याे दलाल पुँजीवाद मिल्काउन कुनै आइतबार कुर्न पर्दैन ।’
उनले पूर्खाहरूले नालापानी र टिस्टामा लडेर देशलाई बचाएजस्तै अहिलेकाे पुस्ताले दलाल पुँजीवादसँग लडेर वैज्ञानिक समाजवाद ल्याउनुपर्ने बताएका छन् । ‘हामी अब दलाल पुँजीवादसँग लड्नुपर्छ,’ उनले भनेका छन्, ‘हाम्राे पुस्ताहरूले लडेर पञ्चायत ढालेझैँ, राजतन्त्र ढालेझैँ अब नयाँ पुस्ता दलाल पुँजीवादविरुद्ध लड्नुपर्छ । त्यसका लागि अहिलेकाे पुस्ता तयार हुनुपर्छ ।’
उनले पछिल्लाे समय निराशा बाँडेर जीवन चलाउने नयाँ प्रवृत्तिका दलालहरू देखिन थालेकाे बताएका छन् । उनीहरूकाे अन्त्य नभइ मुलुकमा वैज्ञानिक समाजवाद नआउने उल्लेख गर्दै उनले भनेका छन्— अब युवाहरू विदेश गएर हाेइन, धनाढ्य विदेशीकाे चाैकीदार बनेर हाेइन आफ्नै देशमा बेथितिका विरुद्ध लडेर बाँच्नुपर्छ ।








