’शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागे’

काठमाडौँ । कांग्रेसका सांसद जितेन्द्रनारायण देवले शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका छन् । सोमबार राष्ट्रियसभा बैठकको विशेष समयमा बोल्दै सांसद देवले एमसीसी र एसपीपी सम्झौताको सम्बन्धमा अमेरिका र चीनले आफू अनुकूल बोलेको भन्दै शक्ति राष्ट्रहरूले नेपाललाई खेल मैदान बनाउन लागेको बताएका हुन् ।
उनले नेपाल सार्वभौमसत्ता सम्पन्न मुलुक भएकाले के लिने र के नलिने भन्ने निर्णय गर्ने अधिकार नेपाल सरकार र नेपाली जनताको भएको स्पष्ट पारे ।
उनले नेपाल कुनै पनि शक्ति राष्ट्रहरूको खेल मैदान बनाउन नहुनेमा राजनीतिक दलका शीर्ष नेताहरूको ध्यानाकर्षण गराए । सांसद देवले नेपालको कुनै पनि विषयमा अन्य राष्ट्र बोलेमा आन्तरिक मामिलामा हस्तक्षेप हुन्छ भनेर सरकारले र राजनीतिक दलहरूले भन्न सक्नुपर्ने बताए ।
उनले चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियान्चाओको नेपाल भ्रमण र नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको भारत भ्रमणले दुई देशका पार्टी–पार्टी बिचको सम्बन्ध राम्रो बनाएको उल्लेख गरे ।
उनले देशको भू–राजनीतिक अवस्था अनुसार छिमेकी देशहरूसँग सरकार–सरकार र जनता–जनताको स्तरमा मात्र नभई पार्टी–पार्टीको स्तरमा पनि सम्बन्ध हुनु आवश्यक रहेको बताए ।








