कलेज अफ मेडिकल साइन्सेसमा निःशुल्क मधुमेह क्लिनिक

काठमाडाैँ । कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको छ । मधुमेह (सुगर) का बिरामीहरुलाई सहज स्वास्थ्य सेवा दिनका लागि अस्पताल परिसरमा छुट्टै क्लिनिक सञ्चालनमा ल्याइएको हो ।

नेपालमा दिनहुँ मधुमेहीहरुको संख्या वृद्धि भइरहेको र मधुमेहका बिरामी अस्पताल आउने क्रम बढेसँगै क्लिनिक सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । अस्पतालले मध्य नेपालमा पहिलो आफूहरुले मधुमेह स्क्रिनिङ क्लिनिक संचालनमा ल्याएको दावी गरेको छ । सुगरका रोगी तथा सम्भावित रोगीहरुले स्क्रीनिङ क्लिनिकमा समयमै निःशुल्क परीक्षण गरी स्वास्थ्य लाभ लिन सकून् भन्ने उद्देश्यले क्लिनिक संचालनमा ल्याइएको अस्पतालले जनाएको छ ।

सम्झौता अनुसार उक्त क्लिनिकमा हप्ताको सातै दिन बिहान ६ देखि ८ बजेसम्म मधुमेह समाजमा आबद्ध तथा अन्य सम्पूर्ण मधुमेहका बिरामीहरुको निःशुल्क सुगर जाँच (मधुमेह परीक्षण) गर्न सक्नेछन् । यस्तै मधुमेहका सम्पूर्ण बिरामीहरुलाई मधुमेह स्वास्थ्य जाँच प्याकेजमा ५० प्रतिशत छुट अस्पतालले दिएको छ । यो सुबिधा एउटा बिरामीले हरेक तीन महिनामा एकपटक पाउने सम्झौतामा उल्लेख छ ।

समाजका पदाधिकारीहरुले अस्पतालका रेडियोलोजी र फार्मेसी बाहेकका अन्य सम्पूर्ण सेवामा २० प्रतिशत छुट पाउने जनाईएको छ । मधुमेह स्क्रिनिङ क्लिनिकमा फोनबाट अग्रिम नाम लेखाएर पनि सेवा लिन सकिने जनाईएको छ ।

दुबै पक्षको आपसी सहमतिमा निःशुल्क स्वास्थ्य शिविर सन्चालन गर्ने, मधुमेह रोग नियन्त्रण तथा उपचारको लागि सचेतना अभियान सञ्चालन गर्ने, स्वास्थ्य शिक्षा तथा अन्य स्वास्थ्य सम्बन्धी कार्यक्रमहरु सञ्चालन गरिने सम्झौतामा उल्लेख छ । समाजका अध्यक्ष यमप्रसाद शर्माले मधुमेहका बिरामीहरुका लागि छुट्टै निःशुल्क स्क्रिनिङ क्लिनिकमा सेवा लिन पाइने र अन्य उपचारमा समेत छुट पाउनु खुशीको कुरा भएको बताए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *