आफूलाई कारबाही गर्ने पार्टी निर्णयको भर्त्सना गर्दै बाबुरामले भने- कारबाही फिर्ता होस्

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले आफूसहितका नेतामाथि गरिएको कारबाहीको भर्त्सना गर्दै उक्त निर्णयको खारेजीको माग गरेका छन् ।
जसपाका अध्यक्ष उपेन्द्र यादवले भट्टराईसहित पार्टीका नौ नेतामाथि कारबाहीको निर्णय गरेपछि भट्टराईले शुक्रवार राति अबेर विज्ञप्ति जारी गर्दै नयाँ पार्टी पुनर्गठनमा जुट्न सबैलाई अपिल गरेका छन् । अध्यक्ष यादवले भने पार्टीको विधि, विधान र पद्धतिअनुरूप नचलेकाले उनीहरूलाई कारबाही गरिएको स्पष्ट पारेको छ ।
जसपाका नेता मोहम्मद इस्तियाक राईले भने, “पार्टीको बैठक अध्यक्षले बोलाउने हो, अर्को पक्ष (बाबुराम भट्टराई पक्षका नेता) बैठकमा सहभागी नहुनु उहाँहरूको इच्छा हो, पार्टी सञ्चालन प्रक्रिया पार्टीको राजनीतिक दलको विधानअनुरूप हुने हो ।”
संघीय परिषद् अध्यक्ष भट्टराईले पार्टी रूपान्तरणका लागि अनवरत रूपमा खटिएका केन्द्रीय सदस्यलगायत सबैलाई पार्टी पुनर्गठनका लागि पनि अपिल गरेका छन् । “हामी यस कारबाहीको घोर भर्त्सना गर्दै कारबाहीको निर्णय खारेज गर्दछौँ । यो परिस्थितिमा अब हाम्रो सामु पार्टी पुनर्गठनको विकल्प रहेन”, विज्ञप्तिमा भनिएको छ ।
पार्टीभित्र लामो समयदेखि देखिएका वैचारिक, राजनीतिक, साङ्गठनिक र केन्द्रीय समिति अध्यक्षको कार्यशैलीविरुद्धको बहस उत्कर्षमा पुग्दै गर्दा केन्द्रीय समितिको अलगअलग बैठक गर्नुपरेको भट्टराईको भनाइ छ ।
संघीय परिषद् अध्यक्षको अध्यक्षतामा बसेको केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गरेको भन्दै उनले पार्टी अध्यक्ष यादवले पार्टीलाई एकताबद्ध बनाउन पहल नगरेर अवैधानिक रूपमा संघीय परिषद् अध्यक्षलगायत केन्द्रीय कार्यकारिणी सदस्यलाई पदमुक्त गरेको आरोप लगाएका छन् ।
यता भट्टराई पक्षको यही असार २८ र २९ गते काठमाडौँमा सम्पन्न केन्द्रीय समितिको विस्तारित बैठकले पार्टी रूपान्तरणका लागि अन्तिमसम्म प्रयत्न गर्ने निर्णय गरेको थियो ।








