सत्ता हाँक्नेहरूमा कसले बढी कमाउने भन्ने प्रतिस्पर्धा छ : महामन्त्री बर्तौला

हेटौँडा । राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले अहिलेको सत्तासीन समीकरण कसले बढी कमाउने भन्ने प्रतिस्पर्धामा मस्त रहेको आरोप लगाएका छन् । हेटौँडामा आयोजित अगुवा कार्यकर्ता भेटघाटमा मन्तव्य राख्दै महामन्त्री बर्तौलाले यस्तो आरोप लगाएका हुन् ।

भ्रष्टाचारी, बिचौलिया र माफियाहरूको घेरामा सरकार रहेको उनको तर्क छ । नेपालमा लोकतान्त्रिक हिन्दुराष्ट्रको एजेन्डा बोक्ने पार्टी राप्रपा नेपाल मात्र भएको बताउँदै उनले हिन्दुराष्ट्रको कुरासँग कोही गैर हिन्दुहरु तर्सिनु नपर्ने जिकिर गरे ।

उनले हिन्दुराष्ट्र पहिचानको विषय भएको चर्चा गर्दै धर्मको आधारमा राज्य सत्ता सञ्चालन नहुने र हिन्दु धर्मलाई मात्र विशेष सेवा, सुविधा केही पनि नहुने स्पष्ट पारे । स्वधर्म सहभाव र धार्मिक स्वतन्त्रता सहितको हिन्दुराष्ट्र राप्रपा नेपालले चाहेको उनको कथन थियो । मुलुक भ्रष्टाचारी, माफिया र बिचौलियाको हातमा पुगेको प्रमाण पछिल्लो डरलाग्दो र घिनलाग्दो भ्रष्टाचारको काण्ड भएको उनको भनाई थियो ।

कसैलाई गाली गरेर राप्रपा नेपाल बलियो नहुने भन्दै उनले संगठन केन्द्रित हुन सबैमा आग्रह गरे । कार्यक्रममा जिल्ला अध्यक्ष गुरु प्रसाद सापकोटा, क्षेत्रीय अध्यक्षहरू दामोदर वाग्ले, बद्री कुँवर, युवक संगठनका अध्यक्ष भृगु कार्की, जीत घले, विद्यार्थी नेता सञ्जीव चौलागाईंलगायतले मन्तव्य राखेका थिए ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

one × 4 =