दिल्लीमा के-के गर्दैछन् प्रचण्ड ?

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारत भ्रमणमा छन् । उनी आज विभिन्न व्यक्तिलाई भेट्दैछन् ।
भारतका विदेशमन्त्री एस जयशंकरसँग भेट्ने तय भएकाे छ । विदेश सचिव विनयमोहन क्वात्राले प्रचण्डसँग भेट गर्नेछन् भने फाउन्डेसन फर पब्लिक अवारनेस एन्ड पोलिसी नामक संस्थाले आयोजना गर्ने नेपाल-भारत सम्बन्ध विषयक कार्यक्रममा सम्बोधन तय भएकाे छ ।
प्रचण्ड मुख्य वक्ता रहने उक्त कार्यक्रममा नेपालका लागि भारतीय पूर्व राजदूत, भाजपाका नेताहरु, विदेश मन्त्रालयका कर्मचारी र अन्तर्राष्ट्रिय मामिला विज्ञ सहभागी हुने जनाइएको छ । साँझ उनी भारतीय विदेशमन्त्री जयशंकरले आयोजना गर्ने रात्रिभोजमा सरिक हुनेछन् ।
आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनको निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले मोदीसँग ब्रेकफास्टसहित वार्ता गर्ने कार्यक्रम छ । त्यसपछि प्रचण्डले भाजपा अध्यक्ष नड्डासँग भेटवार्ता गर्नेछन् ।
प्रचण्ड भाजपा मुख्यालय जाने नेपालका दोश्रो शीर्ष नेता हुनेछन् । यसअघि प्रधानमन्त्री शेरबहादुर देउवा गत अप्रिलमा भारत भ्रमणमा जाँदा भाजपाको मुख्यालय पुगेका थिए । देउवा भाजपा मुख्यालय पुग्ने पहिलो शीर्ष नेपाली नेता थिए । दिवाभोज सम्पन्न गरेपछि प्रचण्ड आइतबार अपराह्न स्वदेश फर्किने कार्यक्रम छ ।








